Logo

प्रहरी महानिरीक्षक सिंहद्वारा प्रहरी अस्पतालको निरीक्षण



काठमाडौं, २७ जेठ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको शुक्रबार निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा उनले अस्पतालस्थित अक्सिजन प्लान्ट, पूर्व प्रहरी अधिकृत प्रतिक्षालय, फिजियो थेरापी विभाग, क्लिनिकल प्रयोगशाला, अपरेशन थिएटर, आईसीयू, सीसीयू, विभिन्न वार्डहरू लगायत विभिन्न यूनिटहरूको अवलोकन गरेका थिए ।

निरीक्षण पश्चात अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले हरेक प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य उसको कार्य सम्पदान गर्ने सामर्थ्य र मनोबलसँग जोडिने भएकोले संगठनात्मक लक्ष्य प्राप्तिका लागि बिरामी जाँच र उपचारमा अस्पताल प्रशासन तथा कार्यरत कर्मचारीहरू संवेदनशील हुनुपर्ने बताए । साथै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा अस्पतालले दर्जागत विभेद विना समानता कायम गरी असल व्यवहार, उचित परामर्श, सहानुभूतिपूर्ण उपचारको माध्यमबाट सेवामा सबैको सरल र सहज पहुँच हुने वातावरणको सुनिच्चितता गर्नुपर्ने उल्लेख गरे ।

विद्यमान सेवाहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा अस्पतालको दीर्घकालीन विकासको लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्न उनले निर्देशन दिए ।

उक्त अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखबाट प्राप्त निर्देशनलाई पालना गर्दै काम गर्न प्रतिवद्ध रहेको बताए । साथै उनले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नविनतम् प्रविधि र पद्दतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा विरामीमैत्री सेवा प्रदान गर्न सदैव तत्पर रहेको उल्लेख गरे ।

प्राविधिक प्रहरी नायव महानिरीक्षक डा।विजय राम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त अवसरमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य उपचार गतिविधि सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्