Logo

हरिबोल गजुरेलले गृहमन्त्रीलाई सफल भनेर प्रशंसा गरे, प्रधानमन्त्री देउवाको आलोचना (भिडिओसहित)



काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकोले यसको प्रभाव अन्य दलमा पनि परेको सुनाए । तर, अहिले मन्त्रीहरु फिर्ता बोलाउने बेला हो कि होईन भन्ने कुरामा गम्भीर समिक्षा हुनुपर्नेमा उनले जोड दिए ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले सरकारले ल्याएको बजेटको मूल पक्ष राम्रो रहेको जिकिर गरे । तर, बजेट निर्विवाद रहेको भनेर दाबी भने गर्न नसकिने उनको भनाई छ । उनले अहिले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्यस्वभाव राम्रो रहेकोले मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्बन्ध एकातर्फ कोल्टे बनाएको भन्दै अमेरिकासँगको सम्बन्धको बारेमा संकेत गरे । उनले भने,‘अन्तर्राष्ट्रिय सम्बन्धमा अब हाम्रो प्रधानमन्त्री शेरबहादुरजीको अलिक एकतर्फी कोल्टिएको देखिएको छ, यो कुरा सबैले अनुभूत गरेका छन्, सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध भएन भन्ने कुरा उठेको छ । त्यसमा हाम्रो पार्टीभित्र पनि छलफल चलिरहेको छ । आवाज उठिरहेको छ । असंलग्न परराष्ट्र नीतिबाट नेपाल डिरेल हुने हो कि भन्ने खतरा पैदा भएको छ । तर, अहिले त्यतातिर सोच्नुपर्छ जस्तो मलाई लाग्दैन् ।’

उनले भारत र चीनसँगको सम्बन्धलाई नेपालले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले एमालेलाई पश्चगामी शक्तिको रुपमा चित्रण गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिकामाथि प्रश्न उठाए । नेता गजुरेलले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई सफल मन्त्रीको रुपमा चित्रण गरे ।

उनले मूलभुत रुपमा गृहमन्त्री खाँणले धेरै राम्रो काम गरेको सुनाए । उनले समयमै निर्वाचन सम्पन्न गरेकोले गृहमन्त्री खाँणलाई सफल मन्त्रीको रुपमा चित्रण गरेका हुन् । बजेट जनमुखी ल्याएको भन्दै उनले अर्थमन्त्री जनार्दन शर्माको पनि मुक्तकण्ठले प्रशंसा गरे ।



प्रतिक्रिया दिनुहोस्