काठमाडौँ,३० जेठ । अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका–६ का भक्तबहादुर राई चिन्तित बनेका छन् ।
एक हप्ताको अन्तरालमा उनले पालेका ५८ उन्नत जातका बङ्गुर मरिसकेका छन् । स्माट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले रु ४७ लाखको लागतमा मेचीनगर–८ स्थित मङ्गलचोकमा बङ्गुर पाल्नु सुरु गरेका थिए । फार्ममा रहेका ९४ विभिन्न प्रजातिका बङ्गुरमध्ये ५८ अज्ञात रोगका कारण मरेका छन् । उनले भने“बाँकी बङ्गुरलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ । ”
ल्याण्डप, पाख्रीबास, डिउरो, होल्याण जस्ता उन्नत जातका बङ्गुरपालन गरेका राईको खोरमै दैनिक छ देखि सात सम्म १३० केजीसम्मका मर्न थालेपछि उनलाई बाँकी रहेका बङ्गुर जोगाउन मुस्किल परिरहेको छ ।
“हप्तादिनको अवधिमा ५० किलोदेखि १३० किलोसम्मका बङ्गुर भटाभट मरे”, उनले भने, “पाठापाठीको त हिसाबै राखेका छैनन् । मरेकामध्ये पाँच ठूला बङ्गुरको मात्र इन्स्योरेन्स गरेको थिएँ ।” बङ्गुरमा छेरौटी, उच्च ज्वरो, आहारा नखाने र झोक्राएर बस्नेजस्ता लक्षण देखिएको उनको भनाइ छ । हालसम्म मेचीनगर नगरपालिकाको पशुसेवा विभागले प्रयोगशाला परीक्षण नगरेको जनाएको छ ।
विभाग प्रमुख पशु प्राविधिक छत्रबहादुर राईले रोगको पहिचानका लागि जिल्लाको समन्वयमा प्रयोगशाला परीक्षणका लागि पठाउने तयारी भइरहेको बताए । रासस