Logo

जाहेरी परेपछि राज्यमन्त्री वली प्रहरी थानामै, प्रेमीको खोजी



काठमाडौं, ३१ जेठ । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीविरुद्ध मीना भण्डारीले किटानी जाहेरी दिएकी छिन् । जाहेरी दिएपछि उनीमाथि अनुसन्धान बढाइएको छ । अनुसन्धानका लागि वली प्रहरीको नियन्त्रणमै छिन् ।

वलीमाथि भण्डारीले अभद्र व्यवहार गरी लछारपछार र कुटपिट गरेको आरोप लगाएकी छिन् । उनले आफू र छोरीलाई समेत वलीले लछारपछार पारेको जाहेरीमा भनेकी छिन् ।

आज विहानै तुल्सीपुरस्थित प्रेमी एकराज बस्नेतको घरमा छिरेर वलीले उनकी पत्नी मीना भण्डारीमाथि आक्रमण गरेको विषय चर्चामा आएको थियो । घटनापछि स्थानीयले वलीलाई कोठामा थुनेर प्रहरी बोलाई जिम्मा लगाएका थिए । घटनाबारे अनुसन्धान गर्न प्रहरीले वलीको प्रेमी भनिएका एकराज बस्नेतको पनि खोजी सुरु गरेको छ । वली फोन अफ गरेर केही दिनयता सम्पर्क बाहिर रहेको बुझिएको छ ।

वली दाङ क्षेत्र नम्बर ३ ख का निर्वाचित सांसद उत्तरकुमार वलीको दुर्घटनाबाट निधनपछि उपचुनाव जितेर सांसद बनेकी हुन् । उनी नेकपाको सूर्य चिन्हबाट दाङमा चुनाव लडेर प्रदेश सभा सांसद बनिन् ।

उत्तरकुमार वलीको निधनपछि विमला वलीबारे धेरै तथ्यहरु बाहिरियो । विशेषगरी लुम्बिनी प्रदेशको सरकार बनाउने र ढलाउने खेलमा उनी निर्णायक शक्ति बनिन् । कहिले एमालेमै रहेको भन्ने त कहिले माओवादीमा छु भन्ने गर्न थालिन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाइएको भन्दै सार्वजनिक रुपमा भनिन् । उनी माओवादीमा लागेर राज्यमन्त्री बन्न सफल भइन् । त्यतिबेला उनको एकजना पुरुषसँगको संवेदनशील तस्बिर बाहिरियो । ती पुरुष थिए एकराज बस्नेत । बस्नेत ठेक्कापट्टामा संलग्न थिए । दुवैबीच निकट सम्बन्ध थियो ।

बिमलाको एकराजसँगको चुम्बन गरिरहेको तस्बिर नै बाहिरियो । त्यसको बिमलाले खण्डन गरेर तस्बिर एडिट गरेर चरित्रहत्या गरेको दाबी गरिन् । एकराजलाई आफ्नो भाई भनिन् । अहिले आएर उनै एकराजलाई पोई भनेर विहानै घर पुगेर बबण्डर मच्चाइन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्