Logo

आरोपित श्रेष्ठको डिएनए परीक्षण गरिने



काठमाडौं, असार १ । पाँच दिनदेखि काठमाडौंको वसन्तपुरमा न्यायको माग गर्दै अनसनमा बसेकी १९ वर्षीय कुमारी आमा निहारिका राजपुतका बलात्कार आरोपित शिवराज श्रेष्ठको उनको छोरासँगको डिनए परीक्षण गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ।

मंगलबार आयोगकी अध्यक्ष कमला पराजुलीले पीडित राजपुतलाई भेटी आरोपित पुरुषको डिएन परीक्षण गर्नको लागि अदालतलाई निवेदन दिने प्रक्रिया अघि बढिसकेको बताइन्। ‘डिएनए परीक्षणको लागि निवेदन लेख्ने काम भइरहेको छ, मुद्दाको छिटो फैसला गर्न अदालतलाई सुझाव दिइहाल्छौं,’ अध्यक्ष पराजुलीले भनिन्।

जनकपुरका शिवराज श्रेष्ठले उनलाई साथीको घरमा गएको बेला पानीमा नशालु पदार्थ खुवाएर बलात्कार गरेपछि छोरा जन्मेको कारण र आफू कुमारी आमा बनेको निहारिकाको दाबी छ। पेटमा गर्भ रहँदादेखि नै आफू न्यायको लागि महिला आयोगदेखि अदालतमा धाउँदासमेत न्याय नमिलेपछि अनसन बस्नु परेको निहारिकाले गुनासो गर्दै आएकी छिन्।

उनले पाँच बुँदे मागसहित न्याय नपाएसम्म अनशन नतोड्ने जनाएकी छिन्। अहिले उनी २१ महिनाको छोरासहित काठमाडौंको बसन्तपुरमा अनशन बसिरहेकी छन्। निहारिकाका पाँचवटा मागमध्येमा खुलेआम हिंडिरहेको अपराधीलाई प्रशासनले पक्राउ गरी अनुसनधान गर्नुपर्ने, आरोपित श्रेष्ठसँग आफ्नो छोराको डिएनए परिक्षण गर्नु पर्ने, उच्च अदालतमा चार महिनादेखि मुद्दा दर्ता गरे पनि अहिलेसम्म मुद्दाको फैसला नभएकोले छिटो मुद्दा फैसला गर्नुपर्ने, घटनाको सुरुदेखि नै आफ्नो प्रशासनबाटै कमजोर बनाइएकोले त्यसको पुनः अनुसन्धान गरिनुपर्ने, २१ महिने छोराको हेरचाह र सुरक्षाको व्यवस्था राज्यले गर्नुपर्ने लगायतका मागहरू छन्।

यी मागमध्येमा आयोगले आरोपित श्रेष्ठको डिएनए परीक्षण गर्ने र उच्च अदालत जनकपुरलाई पेसी छिटो पेस गर्ने प्रक्रियाको लागि पहल गर्ने प्रतिबद्धता जनाएकी हुन्। अध्यक्षको प्रतिबद्धता लगत्तै निहारिकासहित आमरण अनशनमा ऐक्यबद्धता जनाएकी युवती ज्यास्मिन ओझा र देव शर्माले मंगलबार साँझ अनशन तोडेर उनको न्यायिक प्रक्रियाको लागि खट्ने जनाएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot