वीरगञ्ज, असार १। फेमली, अमृत , निलकमल , सफारी लगायत नेपाली ब्राण्डको खानेतेल नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तोमा पाइने गरेको पाइएको छ ।
नेपाली बजारमा आम उपभोक्ताले प्रतिलिटर ३२० रुपैयाँमा खरिद गरिरहेको सन फलावर तेल भारतीय बजारमा २८० देखि २८५ रुपैयाँमा खुद्रा बिक्री भईरहेको छ ।
मंगलबार वीरगञ्जको मुख्य नाका भएर रानीघाटकी नम्रता श्रेष्ठले नेपाली फेमली ब्राण्डको सनफलावर तेल सिमावर्ती भारतीय बजार रक्सौलमा नेपालमा भन्दा सस्तो भएको बताइन् । उनी खाद्यान्न र किचनका सामाग्री सिमावर्ती भारतीय बजार रक्सौलमा किन्ने गरेको बताउन्छिन् ।
सस्तो हुँदा नेपाली तेल भारतबाट किनेर ल्याएर खानुपर्ने बाध्यता रहेको उनको भनाई छ । वीरगञ्जमा ३२० रुपैया पर्छ रक्सौलमा ४५ रुपैयाँ सस्तोमा पाइने गरेको उनले बताइन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघ अन्तर्गतको स्थानीय कर समितिका संयोजक सुरेश रुगंटाले पनि नेपालमा भन्दा भारतमा खानेतेल २० प्रतिशत सस्तो रहेको बताए । भारत सरकारले खाने आयातमा सबै कर छुट गरेको छ , मात्र ५ प्रतिशत जिएसटि लाग्छ ।
त्यस्तैगरी नेपालबाट निकासी गर्दा पनि निर्यातमा छुट रहेको छ तर त्यही सामान नेपालमा बेच्ने गरी आयात गरी बजारमा बेच्दा भ्याट , भन्सार शुल्क लगायतका गरी २५ प्रतिशत कर लाग्ने गरेको छ । त्यसैले भारतमा सस्तो हुने गरेको उनको भनाई छ ।