Logo

एमालेसँग पनि एकीकृत समाजवादीको सहकार्य हुन सक्छ, कांग्रेस र माओवादी केन्द्रले बेलैमा बुझून्ः जगन्नाथ खतिवडा



काठमाडौं, १ असार । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले स्थानीय तह निर्वाचनमा ५ दलीय गठबन्धनभित्र नेकपा (माओवादी) केन्द्रको भूमिका सबभन्दा नकारात्मक रहेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता खतिवडाले भने, “हाम्रो पार्टीको स्थायी कमिटीको बाह्रौं बैठक हिजोदेखि सुरु भएको छ । खासगरी स्थानीय तह निर्वाचनको समीक्षा भइरहेको छ । स्थानीय तहमा हामीले जम्मा ९ लाख २३ हजार भोट प्राप्त गरेको देखिएको छ । महानगर र उपनगरमा सकारात्मक भए पनि नगर र गाउँमा क्षति बेहोर्यौं । गठबन्धनमा समस्या देखापरे । खासगरी माओवादी केन्द्रको नकारात्मक रोल देख्यौं । हामीले कमभन्दा कम उम्मेदवार उठाउने स्थिति बन्यो ।”
आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेसँग पनि सहकार्य हुने उनले बताए । खतिवडाले भने, “हामी पाँचदलीय गठबन्धनलाई सँगै लिएर जान चाहन्छौं । त्यो पहिलो प्राथमिकता हो । त्यसमा कुनै तलमाथि हुन पुग्यो भने सोच्न सकिन्छ । अहिले कुनै सम्भावना क्लियर छैन । त्यो त चुनावभन्दा एक महिना अगाडि थाहा होला । हामीले अहिले कसैसँष् संवाद अगाडि बढाएका छैनौं, संवाद अगाडि बढाउनुपर्ने बाध्यता हुन सक्छ । अब नेेकपा एमालेसँग पनि कुराकानी हुन्छ । एमाले खुला भएर आउँछ, आउँदैन हेर्न बाँकी छ । यो कुरा कांग्रेस र माओवादी केन्द्रले बेलैमा बुझून् ।”
उनले अमेरिकासँग सैन्य समझदारी गर्न नहुने पनि प्रस्ट पारे । खतिवडाले थपे, “म व्यक्तिगत रुपमा देशका प्रधानमन्त्रीले एसपीपी सम्झौता गर्नुहुँदैन भन्ने पक्षमा छु । तर मैले भनेर मात्र हुँदैन । पार्टीले आवश्यकता अनुसार आफ्नो धारणा सार्वजनिक गर्छ । तर उनले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्ने, नगर्ने संसदको अधिकार भएको बताए । उनले भने, एमालेले अर्थमन्त्रीको राजीनामा मागेको छ । त्यसलाई माओवादी केन्द्रले पनि सुनिरहेको होला । संसदबाट छानबिन बन्ला, नबन्ला । त्यसमा मैले टिप्पणी गर्नु उपयुक्त हुन्न । त्यो सत्यता पुष्टि गर्ने आधार मसँग छैन ।”
मन्त्रीका नमानेका भन्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डका कारण मन्त्री फेरबदल रोकिएको आरोप पनि खतिवडाले लगाए । उनले भने, “यो सामान्य व्यवस्थापकीय समस्या हो । मन्त्री नमानेका कारण रोकिएको होइन । प्रधानमन्त्री र प्रचण्डका कारण तोकिएको हो । मन्त्रीमा बाँचुन्जेल बस्छु भन्ने त कसले सोच्ला र ? मन्त्री रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सचिवालय होइन । उहाँले आफू सहभागी नभएको बैठकको निर्णय भएकाले म मन्त्रीबाट हट्दिनँ भन्नुभएको छैन ।”

 



प्रतिक्रिया दिनुहोस्