Logo

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न दिनहुँ बालुवाटार धाउँदै भुवन केसी, नबनाउन कलाकारहरुकै दबाब



काठमाडौं, ३ असार । हालसालै नेपाली कांग्रेसमा प्रवेश गरेका सदावहार नायक भुवन केसीले चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी ताकेका छन् । केसी कांग्रेसमा प्रवेश गर्नेबित्तिकै उनी कुनै लाभको पदमा पुग्ने लख काटिएको थियो । नभन्दै पार्टी प्रवेश गरेको धेरै दिन नहुँदै केसीले चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी ताके ।

अहिले केसी दिनहुँजसो प्रधानमन्त्री निवास बालुवाटार छिर्ने गरेका छन् । लामो समय नेकपा (एमाले) मा सक्रिय केसी एक्कासी कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गर्नुपुर्व उनी काठमाडौंको मेयरमा चुनाव लड्ने पनि हल्ला चलेको थियो । यही बीचमा उनी कांग्रेस प्रवेश गरे ।

उनी कांग्रेस प्रवेश गर्नु पहिलेदेखि नै विकास बोर्डको अध्यक्ष बन्नेगरि गृहकार्यमा जुटेका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको बोर्डमा केसी आउन चाहेपनि उनलाई ल्याउन नहुने भन्दै कांग्रेसनिकट कलाकारहरु नै सक्रिय भएका छन् । केसीलाई ल्याउँदा बोर्डको हालत खराब हुने र उनले नेतृत्व प्रदान गर्न नसक्ने उनीहरुको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बोर्डको अध्यक्ष बनाईदिन केसीले पटक पटक आग्रह गरेको बुझिएको छ । तर, प्रधानमन्त्री देउवा भने अन्य कलाकारहरुको विरोधको कारण अहिले पर्ख र हेरको रणनीतिमा छन् । केसीसँगै कलाकारहरु रवीन्द्र खड्का र स्वेता खड्का पनि कांग्रेस प्रवेश गरेका थिए । उनीहरुलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले नै पार्टीमा स्वागत गरेका थिए । file phot



प्रतिक्रिया दिनुहोस्