Logo

विश्वकप फुटबलमा एशियाली देशहरुले इतिहास रच्लान्



काठमाडौं, ३ असार । विश्वकप फुटबल दोस्रोपटक एशियामा हुँदैछ । यसअघि सन् २००२ मा जापान र दक्षिण कोरिया संयुक्त आयोजक थिए ।
विश्वकपमा एशिया प्यासिफिक क्षेत्रबाट अधिकतम ४ देशहरु सहभागी भएको इतिहास छ । यसपटक २०२२ को विश्वकप कतारमा आयोजना हुँदैछ । आयोजक कतारसहित एशिया प्यासिफिकबाट अहिलेसम्मकै सबैभन्दा बढी ६ देशले सहभागिता जनाउँदैछन ।

विश्वकप फुटबलमा एशियाका देशहरुमध्ये अहिलेसम्म दक्षिण कोरियाले सेमिफाइनलको यात्रा तय गरेको इतिहास साक्षी छ । सबैभन्दा बढी ११ पटक विश्वकप खेल्ने एशियाली देश पनि कोरिया नै हो । उसले १९८६ यता लगातार विश्वकप खेलेको छ ।

दक्षिण कोरियाले सन् २००२ मा सेमिफाइनलको यात्रा सम्म पुगेर इतिहास रच्यो । यो नै एशियाली देशको विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वोत्कृष्ट प्रदर्शन रहेको छ ।

कोरिया पछि जापानले सबैभन्दा बढी ७ पटक विश्वकप खेलेको छ । उसले क्वाटरफाइनलसम्म पुगेको इतिहास छ । जापान एशियाको बलियो फुटबल राष्ट्र बनेको छ ।

अष्ट्रेलिया प्यासफिक क्षेत्रबाट ६ पटक विश्वकप खेलेको देश हो । उसले पनि क्वाटरफाइनलसम्म खेलेको छ ।

इरानले ६ पटक विश्वकप खेलेर दोस्रो चरणभन्दा माथि उक्लन सकेको छैन । साउदी अरेबियाले पनि ६ पटक खेलेको इतिहास छ । उसले क्वाटरफाइनलसम्म खेलेको छ ।

उत्तर कोरियाले २, इन्डोनेशिया, इजरायल, कुवेत, इराक, युएई र चीनले एकपटक मात्र विश्वकप खेलेका छन् । यसपटक आयोजक कतारले पहिलोपटक विश्वकप खेल्दैछ ।

विश्वकपमा एशिया प्यासिफिकबाट आयोजक कतारसहित बलिया फुटबल राष्ट्रहरु दक्षिण कोरिया, जापान, इरान, साउदी अरेबिया र अष्ट्रेलिया प्रतिष्पर्धा गर्दैछन् ।

कतारको समूहमा इक्वेडर, सेनेगल र नेदरल्यान्ड जस्ता राष्ट्रहरु छन् । नेदरल्यान्ड बलियो फुटबल शक्ति हो ।

इरानको समूहमा इंग्ल्यान्ड, युएसए र वेल्स छन् । यो समूह निकै कडा प्रतिष्पर्धा हुनेमध्येको देखिन्छ ।

साउदी अरेबियाको समूहमा अर्जेन्टिना, मेक्सिको र पोल्यान्ड छन् । अर्जेन्टिना दुई पटक विश्वकप जितिसकेको देश हो । मेक्सिको पनि उत्तर अमेरिकाको फुटबल शक्ति हो ।

जापानको समूह कठिन देखिन्छ । उक्त समूहमा विश्वकप जितिसकेका स्पेन र जर्मनी पनि छन् । कोस्टारिका पनि सोही समूहमा छ ।
दक्षिण कोरियाको समूहमा रोनाल्डो कप्तान रहेको पोर्चुगलका अलावा विश्वकप जितिसकेको उरुग्वे र अफ्रिकी मुलुक घाना छन् । यो समूह पनि कठिन छ ।

विश्वकपमा एशियाबाट जापान र इरान कठिन समूहमा परेका छन् । तर, यी दुवै देश बलियो फुटबल शक्ति हुन् । खेलाडीहरु निकै संगठित भएर खेलेमा एशियाली देशहरुलाई इतिहास रच्ने मौका छ । विशेषगरी, दक्षिण कोरिया, जापान र इरान आशा गरिएका टोलीमध्ये पर्दछन् ।

विश्वकपमा छनोट भएका देशहरु
समूह एः कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड
समूह बीः इंग्ल्यान्ड, इरान, यूएसए, वेल्स
समूह सीः अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्यान्ड
समूह डीः फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
समूह इः स्पेन, कोस्टारिका, जर्मनी, जापान
समूह एफः बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया
समूह जीः ब्राजिल, सर्विया, स्वीटरल्यान्ड, क्यामरुन
समूह एचः पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया



प्रतिक्रिया दिनुहोस्