Logo

बन्ने भयो प्रम देउवाको गृहजिल्लामा मेडिकल कलेज र दाहालको निर्वाचन क्षेत्रमा शिक्षक अस्पताल



काठमाडौं, असार ५ । प्रधानमन्त्री शेरबहादर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापनाको लागि सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माण गर्न १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रम देउवा र उनकी पत्नी एवं सांसद आरजु राणाले स्थानीय तह निर्वाचन प्रचारका क्रममा डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका थिए । सोही आधारमा विश्वविद्यालय अनुदान आयोगले बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई अनुरोध गरेको थियो ।

प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज निर्माण, सम्भाव्यता अध्ययन र गुरुयोजना तयार गर्न अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । त्यस्तै, प्रम देउवाकै निर्देशनमा धनगढीको गेटा मेडिकल कलेज सञ्चालन गर्न ४४ करोड रुपैयाँ बजेट छुट्टयाएको छ ।

दुई दिनअघि धनगढी पुगेका प्रम देउवाले गेटा मेडिकल कलेज तत्काल सञ्चालन गर्ने बताएका थिए । प्रम देउवाकै जोडबलमा अर्थ मन्त्रालयले गेटा मेडिकल कलेजका लागि सःशर्त पुँजीगत अनुदान शीर्षकबाट ४० करोड र चालु अनुदान शीर्षकमा ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रम देउवाले गृहजिल्लामा मेडिकल कलेज स्थापना गर्नका लागि जग्गालगायत भौतिक पूर्वाधार तयार गर्न स्थानीय तहलाई निर्देशन दिइसकिएको छ । सोही आधारमा अहिले सम्भाव्यता अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत विश्वविद्यालय अनुदान आयोगमार्फत् उक्त रकम अर्थमा पेस गरेको हो ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षक अस्पताल निर्माणका लागि आगामी आवमा सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माण गर्न ४९ लाख रुपैयाँ बजेट राखिएको छ ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयद्वारा गठन गरिएको समितिले मन्त्री देवेन्द्र पौडेललाई चितवनमा अस्पताल निर्माण गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रालयले बजेट विनियोजन गरेको हो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot