Logo

सिन्धुपाल्चोकमा गठबन्धन हुँदैन, अग्नि सापकोटालाई सिट छाड्दिनँः मोहनबहादुर बस्नेत



काठमाडौं, ५ असार । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले चुनावका बेला कम्युनिस्टहरुले नौटंकी देखाउने गरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “कम्युनिस्टहरुको नौटंकी कसले बुझेको छैन ? चुनाव आउने बेला कसै न कसैसँग प्रभावित भएर १० थरी प्रपोगन्डा मच्चाउँछन् । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का बारेमा शेरबहादुर देउवालाई सोध्ने हो कि केपी ओली, प्रदीप ज्ञवाली, राजेन्द्र क्षेत्रीलाई सोध्ने ? हिजो एमसीसीका बारेमा पनि यस्तै गरे । पहिले बुरुबुरु उफ्रे, पछि आफैंले पास गरे । एसपीपीको प्रस्ताव नेपाली कांग्रेसले ल्याएको हो र ? कम्युनिस्टहरुको नौंटकी जनताले बुझिसकेका छन् ।”
आगामी संघको चुनावमा गठबन्धन गरेर सिन्धुपाल्चोकमा तपाईंलाई बोलीको बोको बनाउन खोजेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा कांग्रेस नेता बस्नेतले भने, “स्थानीय तहको निर्वाचनमा हामीले कसैसँग गठबन्धन गरेनौं । मेरो निर्वाचन क्षेत्रका ५४ वडामध्ये कांग्रेसले ३२ वटा जितेको छ भने माओवादीले जम्मा ५ वडा जितेको छ । ७ पालिकामा कांग्रेसको बहुमत छ । जिल्ला समन्वय समितिमा माओवादी शून्य छ । त्यसैले हामी भोलि संसदीय क्षेत्रमा पनि गठबन्धन गर्दैनौं । अग्नि सापकोटाको वडामा समेत कांग्रेसले जितेको छ । अग्नि सापकोटाले के हैसियत र नैतिकताले सिट माग्ने ? त्यो सम्भवै छैन ।”
अर्को प्रसंगमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले छिटै केही मन्त्रीको बिदाइ गर्ने पनि बताए । बस्नेतले थपे, “मन्त्रीमण्डलमा राम्रा काम गर्ने मन्त्री पनि छन् । अनुशासनहीनताको पराकाष्टा नाघेका मन्त्री पनि छन् । पटक पटक मन्त्रीमण्डल फेरबदल गर्ने भन्दा पनि एकै पटक गर्ने सुरले प्रधानमन्त्रीले पर्खनुभएको होला । को को नयाँ मन्त्री आउँदै छन् भन्ने त प्रधानमन्त्रीजीलाई नै सोध्नुपर्छ ।”
कृषि मन्त्रालयले राम्रोसँग काम नगरेकाले खेतीपातीको हरेक सिजनमा मल अभाव हुने गरेको पनि बस्नेतले औंल्याए । उनले भने, “मलको हाहाकार छ । कतिपय मल बाटोमा अलपत्र छ । किसानले मल नपाउनु सरकारकै कमजोरी हो । कृषि मन्त्रालयले राम्रोसँग काम गर्न सकेको छैन । पैसा तिरेर किन्छु भन्दा पनि नपाएकाले धादिङमा मल लुटिएको छ । यस्ता घटना अब बढिरहन्छन् । हामीले सिन्धुपाल्चोकमा तातोपानी नाकाबाट आएको मल वितरण गरिरहेका छौं । तर कन्टेनर कम भएकाले यो सबै किसानलाई पुगेको छैन । हात्तीको मुखमा जिरा जस्तो भएको छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot