Logo

बुलेटमा लगानी, बालुवामा पानी



काठमाडौं, असार ५ । खाना पकाउने ग्यासको मूल्यमा मात्र होइन, ग्यास ढुवानीमा पनि मुलुकले ठूलो रकम भुक्तानी गर्दै आएको छ । ग्यास ढुवानीमा भारतीय बुलेटको एकाधिकार रहेका कारण मुलुकले भाडामात्र वार्षिक छ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्नुपरेको छ ।

भारतीय बुलेटले एलपी ग्यास ढुवानी गर्दा पाउने दैनिक भाडा करिब एक करोड ८० लाख रुपैयाँ हुन्छ । त्यस आधारमा मासिक करिब ५५ करोड र वार्षिक छ अर्ब रुपैयाँ पर्छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अनुसार नेपाल भारतको छोटो दूरी बरौनीबाट काठमाडौँ ग्यास ल्याएको एक ट्रिपमा बुलेटले एक लाख ५० हजार रुपैयाँ भाडा लिन्छ । तर लामो दूरी अर्थात् उडिसाबाट ल्याएको हो भने एक पटकमा करिब तीन लाख रुपैयाँ भाडा लैजान्छ ।

२०७७/०७८ मा नेपाल आयल निगमले ३४ अर्ब २४ करोड रुपियाँको चार लाख ८१ हजार मेट्रिक टन ग्यास आयात गरेको छ । सोही आवमा भारतसँग नेपालको व्यापार घाटा १४ खर्ब ३१ अर्ब रुपियाँ रहेको छ । यसमा नेपाली व्यवसायीले ग्यास बुलेटका लागि गरेको लगानीको तथ्याङ्क समावेश छैन ।

एभरेष्ट ग्यास उद्योगका नाममा दुईवटा बुलेट परीक्षणका लागि ल्याइएको भए पनि भारतले सुरक्षाका कारण देखाएर अनुमति नदिएपछि हेटौँडामा थन्काइएका छन् ।

साथै यसमा उनीहरूको लगानी खेर गएको पनि तथ्याङ्क पर्दैन । आर्थिक वर्ष ०७७/७८ भन्दा पाँच वर्षअघि नै नेपाली व्यवसायीले त्यसमा गरेको लगानी बालुवामा पानी भएको छ । लगानी गर्ने व्यवसायीलाई ०७२ मा बजेटमार्फत राजस्वमा दुईतिहाइ छुट व्यवस्था भएको थियो । त्यसबाट उत्साहित व्यवसायीले ०७२ असोजदेखि नै नेपाली नम्बर प्लेटका ग्यास बुलेट किन्ने प्रक्रिया सुरु भएको थियो ।

त्यसका लागि नेपाली व्यवसायीले भारतमै ७७५ वटा ग्यास बुलेट निर्माणको अर्डर गरेका थिए । तर भारतको एक्सप्लोसिभ डिपार्टमेन्टले विस्फोटक पदार्थ बोक्ने एक्स्प्लोसिभ इजाजत अनुमतिपत्र नदिएपछि बुलेटको लगानी खेर गयो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot