काठमाडौं, ५ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेमाथि लगाईएका आरोपको बारेमा छानबिन गर्न सरकारलाई चूनौति दिएका छन् । हालै प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार र गठबन्धनको विरोधमा आम जनता एकजुट हुनुपर्नेमा जोड दिए ।
उनले अहिलेको गठबन्धन कुहिएको फर्सीजस्तै भएको उल्लेख गर्दै एमालले चाह्यो भने एक दिनमै गठबन्धन टुट्ने बताए । उनले सत्ता गठबन्धनको प्रमुख साझेदार दल नेकपा (माओवादी केन्द्र) भित्र ठूलो समस्या रहेको सुनाए । उनले अहिले बहालवाला मन्त्रीहरु ज्यान जाला पद छोड्नेवाला नरहेको र अर्को समूह मन्त्रीहरु बन्नको लागि तयार भएर बसेको सुनाए ।
कांग्रेसभित्र पनि नयाँ मन्त्री बन्नको लागि नेताहरु तयार रहेको बस्नेतको सुनाए । सरकारले हतार हतारमा बजेट पास गर्नुको कारणपनि सत्ता दलभित्रै समस्या उत्पन्न भएको प्रमाण भएको उनको भनाई छ । उनले अहिलेको गठबन्धन परि आए संसद् विघटन गर्नेसम्मको तयारीमा जुटेको खुलासा गरे । पाँच दलीय गठबन्धनभित्र ठूलो समस्या रहेको भन्दै आगामी निर्वाचनसम्म यो गठबन्धन नजाने उनको दाबी थियो ।