Logo

किसानलाई सूर्यमुखी स्याहार्ने चटारो



रामपुर, ५ असार । कुनै समय घर आँगनका डिलमा सौखका रुपमा लगाइने सूर्यमुखी अहिले भने पाल्पामा व्यावसायीकरण हुँदै गएको छ । घरको सौन्दर्यता बढाउन केही बोट आँगनका डिल र घर वरिपरी लगाउने गरिन्थ्यो । हिजोआज भने किसानले सौन्दर्यतासँगसँगै आयआर्जन गर्ने गरी खेती गर्दै आएका छन् ।

रम्भा गाउँपालिका–१ सगाहाका किसान सूर्यमुखी खेती स्याहार्न व्यस्त छन् । यहाँ व्यावसायीक रुपमा खेती लगाइएको हुँदा फूल टिप्ने, घरमा लगेर फल झार्ने र भण्डारण गर्ने कार्यमा किसानको दैनिकी बितेको छ ।

खेतमा पाकेको सूर्यमुखी टिप्ने र घरमा भित्र्याउने चटारो रहेको ऋषिराम अर्याल बताउछन् । उनलाई करिब छ रोपनी जग्गामा लगाइएको सूर्यमुखी टिपेर स्याहार्न भ्याइनभ्याइ छ । यस वर्ष करिब नौमुरी उत्पादन हुने उनको अनुमान छ । यस पटक करिब १५० लिटर तेल उत्पादन हुने उनी बताउछन् ।

उनी भन्छन्, “फल अत्यन्तै राम्रो लागेको छ, अहिले तेल उत्पादन बढ्नेछ, गाउँघरमा नै अर्गानिक उत्पादन भएकाले धेरैले तेलको माग गरेका छन्, घरायसी प्रयोजनका लागि आवश्यकपर्ने करिब ७० लिटर तेल राखेर बाँकी सबै बिक्री गर्ने हो” ।

उनले गतवर्ष तीन रोपनी जग्गामा लगाइएको सूर्यमुखीबाट पाँच मुरी उत्पादन भएकामा त्यसलाई प्रशोधन गरेर ७५ लिटर तेल उत्पादन लिएका थिए। पहिलो वर्षमा नै उत्पादन राम्रो भएपछि अर्यालले छ वर्षयता मकै खेती लगाउन छाडेर निरन्तररुपमा सूर्यमुखी खेती लगाउँदै आएका छन् ।

उनले यसको खेती सुरु गरेदेखि बजारबाट तेल खरिद गर्नु नपरेको बताए । अहिले उत्पादन भएको सूर्यमुखी प्रशोधन गरेर प्रतिलिटर रु ८०० मा बिक्री गर्ने सोच उनको छ । कम्पोष्ट मल प्रशस्त दिन सकियो भने उत्पादन धेरै लिन पाइने र रासायनिक मलले उत्पादन बढाउन नसकिरहेको अर्यालको अनुभव छ । उनले अहिले रासायनिक मल प्रयोग गर्न छाडेका छन् । सूर्यमुखीकै लागि उनले घरमा चार भैँसीपालन गरेका छना् ।

उनका अनुसार उपयुक्त समयमा लगाउने, मलजल सबै मिलाउन सक्यो भने यसबाट किसानले राम्रो आर्थिक लाभ लिनेछन् । सोही ठाउँकै नोलराज रानाभाट करिब डेढ रोपनीमा लगाइएको सूर्यमुखी स्याहार्ने तयारीमा छन् । छिमेकीले सूर्यमुखीबाट राम्रो तेल उत्पादन गरेको देखेपछि उनले यस वर्ष पहिलो पटक खेती गरेको हो ।

पहिलो वर्षमा नै उत्पादन राम्रो भएपछि अब अर्को वर्ष विस्तार गर्ने उनी बताउछन् । सगाहकै अर्का किसान मित्रसिं थापाले करिब तीन रोपनीमा लगाइएको सूर्यमुखीको उत्पादन लिँदै छन् । यसभन्दा अघि १० रोपनीमा मकै खेती गर्दै आएका थापाले बाँदरको समस्याले सूर्यमुखी लगाएको हो । यसबाट राम्रो उत्पादन हुने भएपछि उनी उत्साहित छन् ।

“बजारमा तेलको मूल्य बढ्दै गएको छ, आफ्नै जग्गामा सूर्यमुखी लगाएर तेल उत्पादन गरियो भने महँगो मूल्यमा खरिद गर्नु परेन, घरकै उत्पादनले खान पुग्नेछ, यसलाई निरन्तररुपमा खेती गर्नेछु”, उनले भने । खेतमा पाकेको सूर्यमुखीलाई टिपेर घरमा ल्याएर घाममा सुकाइने गरिन्छ । घाममा सुकाइएको सूर्यमुखी ओइलाउन हालेर लठ्ठीले ठटाएर दाना झार्ने गरिन्छ ।

यसको तेल पेलेको पिना पशुलाई खुवाएमा राम्रो हुने किसानले बताएका छन् । पाल्पामा यसवर्ष रामपुर, रम्भा र रैनादेवी छहरा क्षेत्रमा व्यावसायिक रुपमा सूर्यमुखी खेती गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउछन् । सूर्यमुखी खेती प्रवद्र्धन गर्दै कार्यालयले सिँचाइ, बीउ, प्रविधिमैत्री सामान, विषादी, मलखाद लगायतमा खर्च गर्ने गरी रामपुर नगरपालिका– ५ स्थित बेझाड खेतमा रु १० लाख रकम विनियोजन गरी कार्यक्रम गरेको उनले बताए ।

“खाली ठाउँ पानी नजम्ने जग्गामा यसको खेती गर्नु उपयुक्त हुनेछ, अगाडि नै खेती लगाइएको ठाउँमा सूर्यमुखी पाकिसकेको हँुदा किसानले भित्रयाउदै छन् भने गहुँबाली स्याहारेर लगाइएका ठाउँका अब टिप्ने तयारीमा छन्”, प्रमुख अधिकारीले भने ।

तोरी बालीको उत्पादन लिएका, खाली जग्गा, पानी नजम्ने जग्गा छनोट गरी अर्को वर्ष सूर्यमुखीको खेती विस्तार गर्ने कार्यालयले योजना बनाएको उनले बताए । यस वर्ष बेझाड खेतमा कृषि ज्ञान केन्द्रको सहयोगमा करिब १५० रोपनी क्षेत्रफलमा सूर्यमुखीको खेती गरिएको खजनीखोला बेझाडखेत सिँचाइ आयोजनाका अध्यक्ष बलबहादुर रानाले बताए ।

“केहीको सूर्यमुखी पाकेर स्याहार्ने समय हुन लागेको छ, कतिपयको ढिला लगाएका कारण फूल फूल्दै गरेको छ, किसानले टिप्ने तयारी गरिरहेका छन्, उचित समयमा खेती गरियो भने यसबाट राम्रो उत्पादन लिन सकिने रहेछ”, उनले भने । उनका अनुसार यस क्षेत्रमा गतवर्ष करिब २०० भन्दा बढी रोपनीमा सूर्यमुखी खेती लगाइएको थियो ।

यस वर्ष ज्ञान केन्द्रको सहयोगमा सूर्यमुखीका अलवा कुलो निर्माणका काम भइरहेका छन् । सूर्यमुखी खेती लगाउन हिजोआज किसानको उत्साह बढ्दै गएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डे बताउछन् ।

गत वर्ष सूर्यमुखी लगाएका किसानले यस वर्ष पनि रामपुरमा निरन्तरता दिएका छन् । सूर्यमुखी खेतीका लागि अनिवार्य आवश्यक पर्ने सल्फरयुक्त मलको प्रयोग किसानले नगर्दा भने फूल अत्यन्त राम्रो देखिए पनि फल भने कम लाग्ने गरेको शाखा प्रमुख पाण्डेयले बताए । परम्परागतरुपमा जग्गा नबाँझियोस् भन्नका लागि मात्रै मकै खेती गरेका किसानलाई गत वर्षदेखि सूर्यमुखी खेतीको कार्यक्रम परेपछि यसतर्फ भने आकर्षण बढ्दै गएको पाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot