Logo

ऐतिहासिक स्थल संरक्षण अभियान सुरु



म्याग्दी, असार ६ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी रहेको हालको बेनी नगरपालिकाभित्रका धार्मिक मठमन्दिर, चौतारी पोखरी र ऐतिहासिकस्थलको पुनःनिर्माण तथा संरक्षण अभियान सुरु भएको छ ।

म्याग्दीको एकमात्र नगरपालिका बेनी नगरपालिकामा रहेका धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित वर–पीपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मतसम्भारका लागि वडा कार्यालयले अभियान नै सञ्चालन गरेका छन् ।

बेनी–७ ले वडामा रहेका मठमन्दिर, वर–पीपल, चौतारी पोखरीको पुनःनिर्माण तथा संरक्षणका लागि जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा अभियान सञ्चालन गरेको वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । आध्यात्मिक विश्वास, वातावरणीय शुद्धता र नगरको सुन्दरतासँग सम्बन्धित यस्ता सम्पदाको संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको उनले बताए ।

उनका अनुसार तत्कालीन पर्वत राज्यको टक्सार (मुद्रा बनाउने ठाउँ) मा रहेको ऐतिहासिक बेनी कोतको पुनःनिर्माण भइसकेको छ भने बेनी बजार क्षेत्रमा रहेका धार्मिक मठमन्दिर, सत्तल, चौतारी र वर–पीपलको संरक्षणमा वडा कार्यालयले आवश्यक बजेट विनियोजन गरेर पुनःनिर्माण कार्यलाई अघि बढाएको छ ।

यसैगरी बेनी –६ मा पनि चौतारी पोखरी र मठमन्दिरको पुनःनिर्माण तथा मर्मतसम्हारको काम सञ्चालन भइरहेको बेनी–६ का वडाध्यक्ष कृष्ण बानियाँले बताए । उनका अनुसार बेनी–६ ले गत वर्षदेखि वडाभित्र रहेका पुराना वर–पीपल, चौतारी–पोखरी र पँधेरा–कुवाको संरक्षण अभियानमा करिब रु पाँच लाख बजेट नै खर्च गरेको छ ।

पुराना सम्पदाको संरक्षणसँगै नयाँपुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकौँ अगाडिका वर–पीपल, चौतारी, पोखरी र धाराको संरक्षण गरिएको उनले बताए । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौं पहिले रोपिएका वर–पीपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा ९पँधेरा०को संरक्षण र मर्मतमा स्थानीयवासीको चासो बढेको वडाध्यक्ष बानियाँले जानकारी दिए ।

उनका अनुसार १०० वर्षभन्दा पुराना वर–पीपलका रुख रोप्नेको विवरण सङ्कलन गरी परिवारबाटै संरक्षणको प्रयास गरिएको छ । गत वर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त वर–पीपल संरक्षण तथा रोपणका लागि रु तीन लाख र चौतारी तथा कुवाका मर्मतसम्भारका लागि रु दुई लाख बजेट खर्च गरिएको उनले बताए। उक्त बजेटबाट थानकपोखरी र जरबुटामा वर–पीपल रोपण र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो ।

वर–पीपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क राख्ने कामसमेत वडाले गरेको छ । वडामा अहिलेसम्मको तथ्याङ्कअनुसार ५० भन्दा बढी वर–पीपल र चौतारी छन् ।

यसैगरी बेनी –२ ज्यामरुककोटमा पनि धार्मिक तथा ऐतिहासिक खड्ग भवानी कोत परिसरमा भौतिक पूर्वाधार निर्माण गरेर ज्यामरुककोटलाई उजिल्याउने प्रयास गरिएको छ । वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार ऐतिहासिक खड्गभवानी कोत परिसरमा घेराबार लगाइनुका साथै कोतमा पुग्न भकुण्डे र कन्थराजथानबाट पदमार्ग निर्माण गरिएको छ । ज्यामरुककोट क्षेत्रमा रहेका चैतारी र पोखरीको संरक्षणका लागि स्थानीयसँग वडाले समन्वय गरेर काम अघि बढाइने उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्