Logo

‘अग्निपथ’को विरोधमा आज भारत बन्दः बिहारका २० जिल्लामा इन्टरनेट काटियो



नयाँ दिल्ली, असार ६ । सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । अग्निपथ योजनाको विरोधमा युवाहरू आक्रोसित बनेका छन् ।

हालै सरकारले ल्याएको उक्त योजनामा भारतका १७ देखि साढे २१ वर्ष उमेर समूहका युवा–युवतीहरूलाई जल, स्थल र वायु गरी तीन ओटै सैन्य सेवामा जवान पदमा चार वर्षको अल्पकालीन करारमा भर्ना गरिने उल्लेख छ ।

योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकास पाउने छन् । योजनालाई लिएर केही दिनदेखि भारतमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । युवाहरूको विरोधबीच सरकारले योजना फिर्ता नगर्ने बताउँदै आएको छ ।

रक्षा खर्च कटौती गर्ने बाहनामा सरकारले लाखौँ युवाको अवसर खोसेको आन्दोलनकारीले बताउँदै आएका छन् । सरकारले ल्याएको योजनाको विरोधमा आन्दोलनकारीले दर्जनौँ सवारी साधन र रेलमा आगजनी गरेका छन् । त्यस्तै, करोडौँ मूल्य बराबरको भौतिक सम्पत्तिमा क्षति पुर्‍याएका छन् ।

बिहारमा २५० रेलले आफ्नो सेवा रद्द गरेका छन् । विहारका २० जिल्लामा इन्टरनेट सेवा बन्द छ । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार झारखण्डमा सोमबार स्कूलहरू बन्द गरिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot