काठमाडौं, ६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको कारण देखाउन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ ।
राप्रपाले सोमबार बबरमहलस्थित निगमको कार्यालय पुगेर कार्यकारी निर्देशकलाई ७ बुंदे प्रश्नसहित ज्ञापनपत्र बुझाएको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
देशको अवस्था मुल्य बृद्धिका कारण आर्थिक संकटमा परेको भन्दै राप्रपाले निगमसँग आइतबार रातिदेखि पेट्रोलियम पदार्थको मृल्यवृद्धि गर्नुको कारण स्पष्ट माग गरेको छ ।
प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलको कच्चा पदार्थको मुल्य कति पर्छ ?, प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेल बराबर कति कर लाग्छ ?, नेपालका भिआइपीलाई वर्षमा कति तेल उपलब्ध गराइन्छ ?, पार्टीले निगमका कर्मचारीहरुको बोनस कति छ ? लगायतका सात प्रश्नहरुको जवाफ पार्टीले निगमसँग माग गरेको हो ।
निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल–मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेलको भाउ १९२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।