Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने विद्यार्थी संगठनको चेतावनी



काठमाडौं, ६ असार । सरकारले आम उपभोक्ताको ढाड सेक्नेगरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै विभिन्न सरोकारवाला पक्षले विरोध जनाएका छन् । उनीहरुले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने पनि माग गरेका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले ‘पेट्रोलियम पदार्थ र दैनिक उपभोगय वस्तुलगायतमा भैरहेको निरन्तरको मुल्यबृद्धि र आमजनस्तरमा यसको प्रभावको विषयमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै विद्यार्थी संगठनका नेताहरु, यातायात व्यवसायी र उपभोक्ता अधिकारकर्मीहरुले सरकारले जनतालाई मार्नेगरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने पनि चेतावनी दिएका छन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पेट्रोलियम पदार्थको मुल्य बढ्दा जनताको जीवनमा प्रत्यक्ष असर परेको बताए । पेट्रोलियम पदार्थको चर्को मुल्यवृद्धिले जनता आत्तिएको भन्दै उनले यसले देशमा आर्थिक संकट आएको समेत टिप्पणी गरे ।

अन्तर्राष्ट्रिय पेट्रोलियप पदार्थको मूल्यवृद्धिलाई समायोजन गरेको भन्दै सरकार पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट उम्किन नपाउने जिकिर गर्दै रेग्मीले सरकारले केही कर हटाएर भएपनि पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल घटाउनुपर्ने बताए ।पेट्रोलियम पदार्थको मुल्यवृद्धि अन्तर्राष्ट्रियस्तरमै बढिरहेको भन्दै उनले सरकारले विभिन्न कर घटाएर भएपनि जनतालाई राहत दिनुपर्ने बताए ।

उनले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध अनेरास्वविय क्रान्तिकारी सडकमा आउनेपनि प्रतिवद्धता जाहेर गरे । उनले भने,‘जब जब पेट्रोलियम पदार्थलगायत सबै कुराको मुल्यवृद्धि हुन्छ, तब तब अनेरास्वविय क्रान्तिकारी सधैं जनता र विद्यार्थीको लागि सडकमा उत्रिन्छ ।’

पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध चाँडै नै आफ्नो संगठन सडकमा आउने उनको भनाई छ । उनले भने,‘अब हामी चाँडै आन्दोलनमा आउँछौ, सरकारलाई दबाब दिन्छौं । सबै सरकारमा सहभागी सबै दुलका शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराउँछौ ।’ उनले सरकारलाई पेट्रोलको वैकल्पिक उर्जा, बिजुली र सोलारको विकल्पबारे पनि रचनात्मक सुझाव दिने उनले बताए ।

विद्यार्थी आन्दोलन जोशमा मात्र गरिने नभएको भन्दै उपाध्यक्ष रेग्मीले पेट्रोलियम पदार्थको मुल्यवृद्धि रोक्ने दीर्घकालिन समाधानका उपायबारे विद्यार्थीहरुले पनि सोचिरहेको सुनाए ।

यसैगरी, अनेरास्ववियुका महासचिव समिक बडालले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध आन्दोलन गर्ने बताए । तर, अहिले देशमा सरकार नै नभएको महसुस जनताले गरिरहेको पनि उनको टिप्पणी छ । उनले सरकार खोज्न पनि सडकमा आउने बताए । सरकारले जनताप्रति कुनै चासो नदिएको आरोप लगाउँदै उनले अब जनतालाई पेट्रोलियम पदार्थमासरकारले राहत दिनुपर्ने माग गरे ।

उनले अहिलेसम्म जनतालाई जगाउनकै निम्ति विद्यार्थीहरुले काम गर्दै आएको पनि स्मरण गराए । उनले भने,‘विगत १ महिनाभित्र ५९ रुपैयाँ इन्धनमा मुल्य बढेको छ। इन्धनसँगै अन्य सामाग्रीको मुल्य पनि बढेको छ, सरकार जनताप्रति कत्तिपनि संवेदनशील र उत्तरदायी छैन् । जनताको कुरा नसुन्ने सरकार जनतालाई चाहिँदैन् ।’

उनले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध अनेरास्ववियुले सबै पक्षलाई समेटेर अभियान नै चलाउने पनि प्रतिबद्धता जाहेर गरे । साथै, उनले संयुक्त विद्यार्थी संगठनले पनि यो विषयलाई साझा एजेण्डा बनाउने स्पष्ट पारे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot