Logo

डा. दीपेश केसीले ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिने



काठमाडौं, ६ असार । पत्रकार डा. दीपेश केसीले ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । देश भन्दा माथि कोही नहुने बताउने गरेका केसीले धर्म, संस्कृति र मातृभाषाको रक्षा, दीगो विकास र भ्रष्टाचारमुक्त समाजलाई मूल एजेन्डा बनाएर उम्मेदवारी दिने भएका हुन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका केसीका अपराधसम्बन्धी पुस्तकहरु, उपन्यासका अलावा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नलमा लेखहरु प्रकाशित छन् । केसीका विभिन्न पत्रपत्रिका र अनलाइनमा लेखहरु पनि प्रकाशित छन् ।

लामो समय खोजमूलक पत्रकारितामा लागेका उनी पछिल्लो समय इतिहास, धर्म र संस्कृतिको अध्ययनमा सक्रिय रहँदै आएका छन् । उनले केही वर्ष अपराधशास्त्रको अध्यापन समेत गरे । अहिले पनि गेष्ट लेक्चरका रुपमा अध्यापन गराउँछन् । हिन्दुत्वको सिद्धान्तबाट प्रेरित केसीले सदीऔं देखि देशमा चलिआएका धार्मिक विचार र परम्पराको रक्षामा आफूलाई समर्पित गर्दै आएका छन् । आफू देश र जनताको सेवक बनेर निरन्तर खटिने बताए ।

पृथ्वीनारायण शाहबाट प्रभावित भएको बताउने केसी देशमा जनजनलाई बाँध्ने धर्म रक्षामा आफूहरु सक्रिय भएको बताउँछन् । उनले ललितपुर क्षेत्र नं २ लाई नमूना क्षेत्र बनाउने परिकल्पना चाँडै प्रस्तुत गर्ने समेत बताए ।

‘देशको माटोबाट सुन्दर भविष्यको परिकल्पनासहित लाखौं देशभक्त युवाहरुको उदय भइसकेको छ,’ केसीले भने,‘हामी सशक्त रुपमा देश प्रथम भन्ने विचार बोकेकाहरु देशभर उम्मेदवार बन्ने गरी बढेका छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot