Logo

‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुग्ने



काठमाडौं, असार ८ । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ। भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए।

रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताए।‍

भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’ मा करिब ५०० भारतीय पर्यटक आउन लागेको र उनीहरुले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ

भारतीय राजदूतावासका अनुसार रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायतका बहुरुपी झल्को देख्न सकिनेछ।

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदास्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भुत रचनालाई प्रवर्द्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगल कालिन प्राचीन संरचना लगायत गुजरातमा अवस्थित स्टैच्यू अफ यूनिटी, दिल्लीमा रहेको नेसनल वार मेमोरियलजस्ता आधुनिक संरचनाका तस्वीरले सजाइएका छन्।

यस रेलको दुईवटा डिब्बालाई विशेष रुपमा योग सम्बन्धि तस्विर तथा सामग्रीले सजाइएको छ जुन हालका वर्षहरुमा विश्वभर प्रचलित छ।

रेलमा १४ वटा डिब्बा हुनेछन्। जसमध्ये केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्द्धन गर्ने किसिमका सामग्री देख्न सकिन्छ। यो रेल सञ्चालनले भारत र नेपालको पर्यटनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्