काठमाडौं, ८ असार । काठमाण्डौ विश्वविद्यालयको हाइड्रोजन ल्याबका विज्ञ टोली र अर्थमन्त्री जर्नादन शर्माबीच छलफल भएको छ । हाइड्रोजन इन्धन उत्पादनको संभाव्यताबारे केयु र अर्थमनत्री मन्त्रालयमा छलफल भएको हो ।
छलफलमा अर्थ मन्त्री शर्माको नेतृत्वमा मन्त्रलायको टोली थियो केयुको तर्फबाट केयुको हाइड्रोजन ल्याबका प्रमुख विराज सिं थापा, प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा र वातावरण ईन्जिनियर लक्ष्मण लामा सहभागि भएका थिए ।
छलफलमा अर्थमन्त्री शर्माले सुरुआतमा सय मेगावाटको हाइड्रोजन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए । विकसित देशहरु धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको प्रसङ्ग निकाल्दै अर्थमन्त्री शर्माले तत्काल सय मेगावाटको हाइड्रोजन प्लान्ट लगाउने बिषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुन केयूका पदाधिकारीलाई निर्देशन दिए ।
रसायनिक मल कारखाना खोल्न विभिन्न देशका अन्तर्राष्ट्रिय कम्पनीहरुले इच्छा देखाइरहेको जानकारी गराउँदै मन्त्री शर्माले हाइड्रोजन इन्धनबाट मल कारखाना संचालन गर्ने विषयमा छलफल अघि बढाउने बताए ।
छलफलमा ग्रीन हाइड्रोइजन ल्याबका प्रमुख थापाले १ सय मेगावाटको ग्रीन हाइड्रोजन प्लान्ट डेढ वर्षमा तयार गर्नेगरी अन्तर्राष्ट्रिय कम्पनीहरुले प्रस्ताव गरिरहेको जानकारी बताए । सिंका अनुसार १ किलो हाइड्रोजन इन्धन उत्पादन गर्न ९ किलो शुद्ध पानी चाहिन्छ । विश्वको तुलनामा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्न धेरै सस्तो हुने दाबी गरिएको छ ।