काठमाडौं, ९ असार । आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर एकैठाउँमा मिसाउन नपाइने भएको छ । दुवै फोहोर एकै ठाउँमा जम्मा गरेमा काठमाडौं महानगरपालिकाले ५ सय रुपैयाँ जरिवाना समेत गर्ने भएको छ ।
आज एक सुचना जारी गर्दै महानगरले फोहोर संकलनको क्रममा फोहोर नछुट्याए प्रत्येक पटक जरिवाना गर्ने चेतावनी दिएको छ ।
महानगरले फोहोर व्यवस्थापन गर्ने स्थानहरु सिसडोल र बञ्चरेडाँडा ल्याण्ड फिल्ड साइटका स्थानीयसँग साउन १ गतेदेखि फोहोर वर्गिकरण गर्नेमा सहमति गरेको छ । स्थानीयहरु साउन सम्ममात्रै अहिलेकै अवस्थामा फोहोर फाल्न दिएका हुन् ।
उनीहरुले यस्तै अवस्थामा फोहो पठाए फेरी फोहोर व्यवस्थापनमा रोक लगाउने बताएका छन् ।