Logo

सिटी सफारी चलाएर अध्ययन र घरखर्च जुटाउँदै



काठमाडौँ,९ असार । विराटनगर महानगरपालिका–११ निवासी विद्यार्थी पङ्कज राउत दैनिक १० घण्टा सिटी सफारी चलाउछन् । उनले सिटी सफारी चलाएर आफ्नो अध्ययनलाई निरन्तरता दिएका छन् ।

यस वर्ष कक्षा १० को एसइई परीक्षा दिनुभएका राउतले कक्षा ८ देखि नै विद्यालय समयबाहेक सिटी सफारी चलाएर आफूसहित दुई भाइलाई पढाउँदै आएका छन् । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले राउतले यही कामबाट परिवारको भरणपोषणमा सहयोग गरेका छन् । राउतको यो मेहेनती कार्यको छिमेकीहरु पनि प्रशंसा गर्दछन् ।

बुवाको काम गर्ने उद्योगमा लडेर हात भाँच्चिएपछि राउत सानै उमेरदेखि परिवारको पालनपोषणका लागि सिटी सफारी चलाउन लागेको हो । यो कामको थालनीमा निकै कठिनाइ भएको उनको अनुभव छ ।

स्कुलमा हुँदा सिटी सफारी चलाएर दैनिक रु ५०० देखि ८०० सम्म आम्दानी गरेका राउतले अहिले दैनिक रु एक हजार २०० सम्म कमाउने बताउछन् । विराटनगरस्थित जनपथ माविमा अध्ययन गर्नुभएका राउत कक्षामा प्रथम हुँदै आएकोमा अहिले सामाजिक काममा रुचि देखाउन थालेका छन् । विभिन्न परोपकारी अभियानमा उनी लागेका छन्।

“मेरो मात्र कुरा छैन, घरमा आमाबुवा पाल्नुपर्छ, मसँगैका दुई भाइलाई पढाउनु पर्दा खर्च बढ्ने भएकाले व्यवस्थापन पढ्ने निर्णयमा पुगेको छु”, उनले भने । एउटा भाइ कक्षा १० र अर्को कक्षा ६ मा अध्ययनरत रहेकोले उनीहरुलाई शिक्षा दिन आफूले दिनरात मेहेनत गरेको उनको भनाइ छ ।

घर खर्चको लागि साहुसँग लिएको ऋण चुक्ता गर्नुपर्ने भएकाले बुबा र आमालाईसमेत ठेला किनिदिएर व्यवसायमा लगाएका छन् । अहिले आँपको मौसम भएकाले आमा र बुवा यही व्यवसायमा आबद्ध भएको उनले बताए । उनी विराटनगरका युवानेता एवं समाजसेवी वासिम आलमको नेतृत्वमा सञ्चालित विपन्नलाई निःशुल्क खाना, लुगा वितरणलगायतका समाजसेवाका अभियानमा समेत सक्रिय भएर लागेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot