काठमाडौं, १० असार । जनता समाजवादी पार्टी, नेपाल विभाजनको मुखमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच अहिले सम्बन्ध चिसिएको छ । यो बीचमा यादवलाई पार्टीभित्रै अल्पमतमा पार्नेगरि बाबुराम पक्षले मुभ गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैमा ५१ प्रतिशत आफूहरुको पक्षमा रहेको भट्टराई पक्षको दाबी छ ।
यादवले पार्टीको बैठक छल्ने गरेको र पटक पटक बैठक राख्न आग्रह गर्दापनि नटेरेको भट्टराई पक्षको आरोप छ । पार्टीभित्र यादवले विधि र विधानलाई तिलाञ्जली दिएको र आफ्नो खुशीले चलेको आरोप लाग्दै आएको छ । बाबुरामले भने प्रधानमन्त्री शेरबहादुर देउवालाई नै भेटेर पार्टीमा आफू बहुमतमा रहेकोले तत्काल यादवले भनेको भरमा मन्त्रीहरु हेरफेर नगर्न सुझाव दिएका थिए ।
बाबुरामले प्रधानमन्त्री देउवासँग आफूसँग केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ५१ प्रतिशत रहेको भन्दै यादव अल्पमतमा परेको दाबी गरेका छन् । भट्टराई पक्षले यादवलाई नेतृत्वबाट हटाउनेगरि हस्ताक्षरसमेत संकलन गरेको स्रोतको दाबी छ । जसपाका एक नेताले भने,‘उपेन्द्रजी सच्चिने अवस्था देखिएन भने हामीले उहाँलाई हटाउनेसम्मको तयारी गरेका छौं, अहिले बाबुरामजीको नेतृत्वमा हामीसँग एब्सुलुट मेजोरोटी छ । हामीले सिग्नेचर पनि कलेक्शन गरिसकेका छौं ।’
भट्टराईले आफूलाई हटाउनेगरि मुभ गरेको थाहा पाएपछि अध्यक्ष यादवले पनि काउन्टर मुभ थालेका छन् । उनले आफूसँग असन्तुष्ट भएर बाबुरामसँग लागेका सांसदहरुलार्इृ तत्काल मन्त्री बनाउने आश्वासन दिएका छन् । यादवको यस्तो आश्वासन पाएपछि ती सांसदहरु अहिले बाबुरामले बोलाउने भेलामा जान छाडेको पनि जसपाभित्र चर्चा छ ।
भट्टराईले यादवलाई नेतृत्वबाट हटाउन नसके ४० प्रतिशत पुर्याएर पार्टी विभाजनको तयारी गरेको पनि सूत्रले बताएको छ । भट्टराईले पार्टी पनि फुटाउन नसके माओवादीमा प्रवेश गर्नेगरि अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल थालेको बताईएको छ । उनी कांग्रेस नेतृत्वसँग पनि नियमित सम्पर्कमा छन् । यादव–भट्टराईको विवादको जरोले जसपा पार्टी विभाजनसम्म पुगेको चर्चा चल्न थालेको छ । file photo