Logo

पर्यटनमन्त्री प्रेम आलेको टिप्पणी-हामी त आजै हट्न तयार छौं, तर ..



काठमाडौं, १० असार । नेकपा (एकीकृत समाजवादी) मा मन्त्रीहरु फेर्ने निर्णय पार्टी नेतृत्वको लागि फलामको च्युरा चपाएसरह भएको छ । खासगरी अहिले सरकारमा भएका पार्टीका सबै मन्त्रीहरु (स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ) बाहेकलाई फिर्ता बोलाउने नेकपा (एस) को सचिवालयको निर्णय थियो ।

तर, मन्त्रीहरु हेरफेर गर्ने निर्णय कार्यान्वयनमा स्वयम मन्त्रीहरु नै बाधक बनेपछि अध्यक्ष माधवकुमार नेपाल तनावमा छन् । पार्टीको निर्णय कार्यान्वयन गराउन नसकेको भनेर सम्मानित नेता झलनाथ खनाल माधव नेपालसँग असन्तुष्ट छन् ।

उनले पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आक्रोश पोखेका थिए । आजमात्रै पार्टीको पोलिटव्यूरो बैठक बस्नुअघि एकीकृत समाजवादीका १० सांसदले मन्त्रीहरु हेरफेर गर्ने निर्णयमा चूनौति दिँदै नयाँ शर्त तेर्साएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको नेतृत्वमा १० सांसदले मन्त्रीहरु हेरफेर गर्ने निर्णय हतारतमा गरिएको र बजेट पारित हुने बेलासम्म पनि कुर्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले त आफूहरु मन्त्रीबाट आजै हट्न तयार रहेको बताए । तर, मन्त्रीहरु हेरफेर गर्दा समावेशितालाई जोड दिनुपर्ने आफूहरुको अडान रहेको आलेले सुनाए ।

उनले भने–‘हामी त आजै मन्त्रीबाट हट्न तयार छौं । तर, नयाँ मन्त्रीहरु पठाउँदा समावेशितालाई ध्यान दिनुपर्छ । महिलालाई पनि मन्त्री बनाउनुपर्छ । र, एउटै जिल्लाबाट दुई जनालाई मन्त्री बनाउनुहुँदैन् । गैरसांसदलाई पनि मन्त्री नबनाऔं भन्ने हाम्रो शर्त छ ।’



प्रतिक्रिया दिनुहोस्