Logo

माधव नेपालका विश्वासपात्रहरुले उनकै विरुद्ध किन यतिसम्म गरे



काठमाडौं, १० असार । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका विश्वासपात्रका रुपमा चिनिन्छन् सांसद कृष्णलाल महर्जन । ललितपुर क्षेत्र नं २ का प्रत्यक्ष निर्वाचित सांसद महर्जन दुई पटक चुनाव जितिसकेका छन् ।

माधव नेपालले कुनै गोप्य बैठक गर्नुपर्यो भने पनि कृष्णलालको बालकुमारीस्थित घर समेत प्रयोग गर्थे । यो तहसम्मको विश्वास माधव नेपाललाई कृष्णलाल महर्जन प्रति छ ।

विरोध खतिवडा पनि माधव नेपालका विश्वासपात्र मानिन्छन् । उनले पनि पछिल्लो समय नेकपा एसको औपचारिक निर्णयविरुद्ध गतिविधि गरिरहेका छन् । आखिर किन यस्तो भइरहेको छ ?

९ असारको मितिमा लेखिएको ध्यानाकर्षण पत्रमा नेकपा एसमा एक्कासी मन्त्रीमण्डल पुनगर्ठनप्रति आपत्ति जनाइएको । उनीहरुले संसदीय दलको बैठक तत्काल बोलाउन माग गरेका छन् । यसले नेकपा एसभित्र तरङ्ग नै आएको छ ।

एकातर्फ माधव नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्रिमण्डल पुनगर्ठनका लागि दबाब दिइरेका छन् । अर्कोतर्फ, माधव नेपालकै विश्वासपात्रहरु त्यसविरुद्ध कदम चालिरहेका छन् । यसले नेकपा एसभित्रको धेरै विवाद छताछुल्ल भएको छ ।

मन्त्रिमण्डल पुनगर्ठन गर्न झलनाथ खनालनिकट दुईजनाको नाम सिफारिश गरिएको छ । यसप्रति माधव नेपालनिकटस्थहरुको असन्तुष्टि देखिन्छ । जीवनराम श्रेष्ठलाई पर्यटन र भवानी खापुङलाई स्वास्थ्य मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालय दिन लागिएको भन्दै नेपाल समूह असन्तुष्ट भएको हो । यसले पनि पछिल्लो घटना विकास भएको हो ।



प्रतिक्रिया दिनुहोस्