काठमाडौं, असार ११ । असार १० गतेभित्र आआफ्नो गाउँ÷नगर सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार अधिकांश स्थानीय तहले शुक्रबार बजेट पेस गरेका छन् । केही स्थानीय तहले भने सभामा बजेट पेस गर्न सकेनन् ।
कुल ७५३ स्थानीय तहमध्ये २६ वटा नगरपालिका र १९ वटा गाउँपालिकाले बजेट सभामा पेस गर्न सकेनन् । २९३ नगरपालिकामध्ये २६ वटा नगरपालिकाले आआफ्नो सभामा बजेट पेस गर्न नसकेका हुन् भने दुईवटा नगरपालिकासँग सम्पर्क हुन नसकेको नेपाल नगरपालिका सङ्घले जनाएको छ । सुदूरपश्चिम प्रदेशको बूढीगङ्गा नगरपालिकामा भने स्थानीय तहको निर्वाचन हुन बाँकी छ ।
त्यस्तै ४६० गाउँपालिकामध्ये १९ वटा गाउँपालिकाले सभामा बजेट पेस गर्न नसकेको र छवटा गाउँपालिकामा मौसमका कारण सम्पर्क हुन नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएको छ ।
दुर्गम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुख नहुनु, कतिपय स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको विवाद कायम रहनु, प्रमुख र उपप्रमुखबीचको आन्तरिक द्वन्द्व रहेकाले कतिपय स्थानीय तहले आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट सभामा पेस गर्न नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले बताउनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० गतेभित्र आआफ्नो सभामा नीति, कार्यक्रम र बजेट पेस गरी असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । गोरखापत्र दैनिकबाट