काठमाडौं, ११ असार । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन प्रधानमन्त्री पद छाड्न तयार रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीमाथि लगाएको आरोप फिर्ता लिन नमानेको खुलासा गरेका छन् । आज (शनिबार) नेकपा राष्ट्रिय एकता अभियानको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गौतमले यस्तो खुलासा गरेका हुन् । गौतम पूनः वामपन्थीहरुबीचको एकताको लागि सक्रिय भएका छन् ।
आजको भेलालाई सम्बोधन गर्दै तत्कालिन नेकपाको एकता जोगाउनको लागि ओलीले सकारात्मक भूमिका खेलेको प्रकाश पारे । ओलीले त्यतिवेला अर्का अध्यक्ष प्रचण्डलाई आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने र उनैको नेतृत्वमा निर्वाचनमा जाने अफर गरेको पनि आज वामदेवले खुलासा गरेका हुन् ।
उनले प्रचण्डले ओलीमाथि लगाएको १९ पृष्ठ लामो आरोपपत्र फिर्ता लिएको भए पार्टी एकता जोगिने थियो भन्ने धारणा राखेका छन् । पार्टी एकता जोगाउनको लागि अध्यक्ष ओली अर्का अध्यक्ष दाहालको निवास खुमलटार पुगेको स्मरण गराउँदै उनले भने,‘दुई अध्यक्षबीच भएको बैठकमा म पनि पुगेको थिएँ । त्यहाँ अध्यक्ष ओलीले म पार्टी एकता जोगाउन आएको छु । यसका लागि जे पनि गर्न तयार छु भन्नुभयो । म एउटा पद छाड्न तयार छु । तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार छु । भन्नुभएको थियो । पहिलो विषयमा नेताहरू बीच धेरै छलफल भएन । उहाँहरु दुवै यसका लागि सहमत देखिनुभयो । तर प्रचण्डले आरोपहरू फिर्ता लिन सक्दिनँ भन्नुभयो ।’ फरक प्रसँगमा उनले कांग्रेस र कम्युनिष्ट मिलेर जानुपर्नेमा जोड दिए । file photo