प्रकाश डोटेल, स्याङ्जा, ११ असार । अर्जुनचौपारी गाउँपालिका ३ रापाकोटका ७९ बर्षिय गंगाधर काफ्ले बिशेषज्ञ सहितको आयुर्वेद सेवा गाउँमै पाएपछि खुसी भए । सामान्य उपचारको लागि जिल्ला सदरमुकाम पुतलीबजार र छिमेकी सहर पोखरा जानुपर्ने बाध्यतामा रहेका काफ्लेले आफ्नै पालिकामा बिशेषज्ञ सहितको सेवा पाएपछि खुशी भएका हुन् । सामान्य उपचारको लागि धेरै रुपैयाँ खर्चमा दिनै बिताएर ठुला सहरमा जानुपथ्र्यो ।
गाउँपालिकाले गाउमै विशेषज्ञ सहितको सेवा गाँउमै पाएपछि ७९ बर्षिय काफ्ले निकै खुशी भएको बताए । काफ्ले जस्तै स्याङ्जाको अर्जुनचौपारी ५ आरुचौरका ७५ बर्षिय मिना पौडेल पनि बिशेषज्ञ सहितको टोलीले गाँउमै सेवा पाउने भएपछि खुशी भइन् । उनले बर्षौैदेखि आयुर्बेदीक सेवा लिदै आएकी थिइन् । तर बिशेषज्ञ सहितको सेवा लिन उनी विगत लामो समयदेखि पोखरा जाने गर्थिन् ।
गाँउमै आयुर्बेदीक सेवा पाउनुले नागरिकमुखी पालिका बनेको अनूभुती आफुलाई भएको पौडेलले सुनाईन् । घुम्ती सेवा स्वरुप थालिएको यो सेवालाई निरन्तरता दिन भने पौडेलले पालिकालाई आग्रह गरिन् ।
गाउँपालिकाले आयुर्वेद औषाधालयको समन्वयमा गरेको बृहत आयुर्वेद स्वास्थ्य शिविरमा पालिका र पर्वतका ५ देखी ८० बर्षका झण्डै ३ सय नागरिकले सेवा लिएका छन् । नागरिकले स्वास्थ्य रहन आहारबिहार मिलाएर उपभोग गर्नुपर्ने बताउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जीवन शैलीमा सुधार ल्याउन आवश्यक रहेको बताए ।
स्वास्थ्य शिविरमा डा. तुलसी श्रेष्ठ सहितको ११ जनाको टोलीले सेवा दिएको हो । स्वास्थ्य व्यक्तिको स्वास्थ्यको रक्षा र रोगीको रोग निवारण भन्ने मुल नाराका साथ गरिएको शिविरमा ३१ प्रकारका औषधीहरु निःशुल्क वितरण गरेको आयुर्वेद औषधालय अर्जुनचौपारीका प्रमुख ललित थापाले जानकारी दिए ।