एजेन्सी, १२ असार । अफगानिस्तानमा आज बिहान गएको भूकम्पमा ठूलो जनधनको क्षति भएको छ । मिडिया रिपोर्टका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प जादा १ हजार जनाको मृत्यु भएको छ भने १५ सयभन्दा बढी घाइते भएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको खोस्ट सहरबाट ४० किलोमिटर टाढा थियो।
अर्कोतर्फ युरोपेली भूमध्यसागरीय भूकम्प मापन केन्द्रले यस भूकम्पको प्रभाव ५०० किलोमिटरको दायराभित्र रहेको जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा बिहानैदेखि सेनाको टोलीले उद्धार कार्य जारी राखेको छ । यसका साथै आपतकालिन एजेन्सीहरूलाई पनि सहयोगका लागि अपील गरिएको छ।
उक्त क्षेत्रमा उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । सरकारले आपतकालीन एजेन्सीहरूलाई यस क्षेत्रमा थप विनाश रोक्न टोली पठाउन अपील गरेका छन् ।