Logo

पर्यटनमन्त्री आलेले अध्यक्ष माधव नेपालसमक्ष बुझाए राजीनामा



काठमाडौं, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । आलेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको बताईएको छ । पार्टीले आलेसहित सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

सोहीअनुसार आलेले आज अध्यक्ष नेपालसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आलेले आफ्नो कार्यकालमा भएका कामको बारेमा प्रकाश पार्न आजै पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै आलेले आफूले ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेर घोषणा गरेअनुसार नै अध्यक्षसामू राजीनामा बुझाएको जानकारी दिए । उनले भने,‘मैले त यसअघि घोषणा गरेको कुरा लागु गरेको छु, ४८ घण्टाभित्र राजीनामा दिन्छु भनेको थिएँ । त्यही भएर आज पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाएको छु । आज ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेको छु । म आजैबाट पदबाट विदा हुन्छु ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले आज/भोलिभित्रै मन्त्रिपरिषद पूनर्गठनको तयारी गरेका छन् । मन्त्रीहरु हेरफेरबारे पार्टीले लिएको निर्णय कार्यान्वयनको लागि यसअघि माधव नेपालले प्रधानमन्त्री देउवालाई ताकेता गरिरहेका थिए । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्