काठमाडौं, १२ असार । बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तन हुने भएको छ । गठबन्धनको सरकार रहेको बाग्मतीमा अहिले नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री छन् । पाण्डे मुख्यमन्त्री हुँदा नै आलोपालो सरकारको नेतृत्वबारे सहमति बनेको थियो ।
उक्त सहमतिअनुसार पाण्डेपछि कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुने भनिएको थियो । तर, सहमति कार्यान्वयनको बेलामा भने वर्तमान मुख्यमन्त्री पाण्डे उदासिन रहेको भनेर आलोचना सुरु भएको छ ।
पाण्डे मुख्यमन्त्री बन्ने बेलामा नै सरकारको बाँकी रहेको कार्यकाल आधा आधा गर्ने सहमति बनेको थियो । मुख्यमन्त्री पाण्डेले सहमतिअनुसार पद छोड्ने तत्परता नदेखाएपछि नेपाली कांग्रेसले सहमतिपत्र बाहिर ल्याएको छ ।
बानियाँले भने सहमति कार्यान्वयन हुने विश्वास दिलाएका छन् । उनले भने–‘सहमति कार्यान्वयन हुन्छ । गठबन्धनको सरकार हो । सरकार बन्दा जे सहमति भएको थियो, त्यो कार्यान्वयन गर्ने बेला भएको छ ।’
कांग्रेस संसदीय दलका नेता बानियाँ, समाजवादीका दलका नेता पाण्डे र माओवादी केन्द्रका दलका नेता शालिकराम जमकट्टेलबीच भएको सहमतिमा सत्ता सम्हालेको ६ महिनापछि पाण्डेले सरकारको नेतृत्व बानियाँलाई हस्तान्तरण गर्ने कुरा उल्लेख छ ।
तर, पाण्डे भने सहमति कार्यान्वयनमा उदासिन देखिएको र तत्काल सरकार परिवर्तन नहुने भनेर हिँड्न थालेकोले कांग्रेस सशंकित बनेको छ । गठबन्धननिकट उच्च स्रोतकाअनुसार मुख्यमन्त्री पाण्डे बजेट पारित भएलगत्तै सरकारको नेतृत्व हस्तान्तरण गर्न तयार भएका छन् । आजबाट बजेटमाथिको छलफल सुरु भएको छ ।
file photo