Logo

नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) ले मनायो प्रथम वार्षिकोत्सव, जनताको मन जित्नेगरि काम गर्ने घोषणा



काठमाडौं, १२ असार । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) ले आगामी प्रदेश र संघको निर्वाचनमा ठूलो जित हाँसिल गर्नेगरि आफ्नो गतिविधि अघि सारेको घोषणा गरेको छ । देश र जनताको हितको लागि केन्द्रित रहेर काम गरेकोले जनताले यो पार्टीलाई आगामी निर्वाचनमा राम्रो मत दिने नेतृत्वको विश्वास छ ।

पार्टीको प्रथम वार्षिकोत्सव मनाउन आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष समारोहमा बोल्ने वक्ताहरुले स्थापनाको एक वर्षभित्रै पार्टीले जनताको मन जितेको बताउँदै सुनौलो भविष्य रहेको बताएका हुन् । सो क्रममा विभिन्न पार्टीका नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) लाई शुभकामना दिनुको साथै आगामी दिनको लागि प्रगतिको कामना पनि गरेका थिए ।

कार्यक्रममा पार्टीका सचिव सञ्जित थापाले छोटो अवधिमा पार्टी जनतामाँझ परिचित भएको सुनाए । उनले भने,‘यो एक वर्ष एउटा उत्सवको रुपमा मनाउनुपर्छ भन्ने हिसाबले स्थायी कमिटीको बैठकबाट आज असार १२ गते नै वार्षिकोत्सव मनाउने निर्णय गरिएको हो । हामी कम्युनिष्ट आन्दोलनमा लामो समयसम्म सक्रिय तथा निश्क्रििय अवस्थामा थियौं । यो दौरानमा आम नेपालीको मुक्ति र अधिकारको लागि निरन्तर संघर्षरत थियौं । हामी संघर्षको दौरान जनताको अधिकारको लागि निरन्तर आवाज उठाउँदै आयौं । अहिलेपनि उठाईरखेका छौं ।’

उनले २०७२ को संविधान नेपाली जनताको भावनाअनुसार नआएको गुनासो पोखे । उनले भने,‘अझैपनि संविधान कार्यान्वयनमा नगएको परिस्थिति छ, देशमा धेरै संविधान बने, तर ती संविधान पनि नेपाली जनताको हितको निम्ति छैन भन्ने कुरा हरेक कम्युनिष्ट पार्टीेले आवाज उठाएको परिस्थिति छ । यो देशमा १० वर्षको जनयुद्ध पनि भयो । कांग्रेसको नेतृत्वमा ००७ सालमा क्रान्ति भएको थियो । विभिन्न आन्दोलन र संघर्ष भएर ठूलो परिवर्तन भएपनि जनताले अपेक्षा गरेअनुसार खासै काम काम गर्न नसकेको अवस्था छ ।’

आफ्नो पार्टीले आगामी दिनमा पनि जनपक्षीय कामको लागि आवाज उठाउने जिकिर गरे । पार्टी गठनको प्रक्रियामै रहँदा पनि आफूहरु गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सहभागी भएको उनको भनाई छ ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का अध्यक्ष राजु कार्कीले एक वर्षमा पार्टीले गरेका कामबारेमा प्रकाश पारेका थिए । उनले प्रेस विज्ञप्ती पनि वाचन गरेका थिए ।
उनले समाजवादी क्रान्ति ‘हाम्रै पालामा हुन्छ कि हुँदैन भन्ने हुटुहुटी’ रहेको सुनाए । उनले भने,‘हाम्रै उमेरमा र यही समयमा समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भनेर यो पार्टी गठन गरेका हौं । एक वर्षमा यो पार्टीले राम्रो प्रगति हाासिल गरेको छ ।’

उनले अहिले देशमा एलायन्सको लहर चलेको पनि सुनाए । तर, आफूहरु भने स्थानीय तहको निर्वाचनमा पनि कुनै एलायन्स नबनाई एक्लै लडेको उनको भनार्य छ । उनले भने,‘स्थानीय तहको निर्वाचनमा पनि देशमा एलायन्स बनेको देखियो । तर हामी त एक्लै लड्यौं । अहिले कम्युनिष्ट एकता अनिवार्य आवश्यकत्ता हो । वाम गठबन्धन बन्यो भने त्यसलाई समर्थन गर्छौं । यो वर्ष पार्टीलाई नयाँ ढंगले उठाउने विचार छ ।’

त्यस्तै, सामाजिक एकता पार्टीका उपमहासचिव डिल्लीबहादुर तामाङले पार्टीले लिएको नीतिअनुसार काम गरोस भन्ने शुभकामना दिएका थिए ।

राष्ट्रिय मुक्ति आन्दोलनका सभापति डा. जितेन्द्र घिमिरेले कम्युनिष्ट आन्दोलनको महत्व र आगामी दिनमा वामपन्थीहरुबीचको एकताबारे प्रकाश पारेका थिए । उनले अहिले देशमा ठूला ठूला काम गर्नुपरे कम्युनिष्टलाई नसम्झि कसैले पिसाब पनि फेर्न नसक्ने अवस्था रहेको सुनाए । उनले आफूहरुले अब दुर्गममा पनि जनताको आँशु पुग्ने वचनबद्धता जनाए । उनले आउँदो चुनावमा सिंगल सिंगल लड्ने भन्दापनि सबै मिलेर जानुपर्ने जोड दिए ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय समन्व्य समितिका अध्यक्ष कृष्णराज पौडेलले अहिले देशको अवस्था नाजुक रहेको र जनता ठूलो निराशामा रहेको टिप्पणी गरे । उनले भने,‘हामीले त चित्रबहादुर र मोहनविक्रमसँग विद्रोह गरेर आएका छौं । अब छिट्टै विशेष महाधिवेशन गर्दैछौं । आजको राष्ट्रिय आवश्यकत्ताबारे हामी क्लियर हुनुपर्छ ।’

उनले बुलुेट र ब्यालेटबाट पनि कम्युनिष्टले देश हल्लाएको स्मरण गराए । कम्युनिष्ट पटक पटक सत्तामा पुगेको भएपनि जनताको हितको लागि काम गर्न नसकेको उनको गुनासो थियो । उनले विद्यमान संसदीय प्रणालीको पनि आलोचना गरे । उनले भने,‘यो अधिनायकवादीहरुको शासन पद्धती हो । जनतामा निराशा छ । जो सरकार र संसद्मा जान्छ, उनीहरुले जनविरोधी गतिविधि अघि बढाएको देखिएको छ । यो प्रवृत्ति सच्याउनुपर्छ ।’

उनले अब आफूहरुले दरिलो पाईला चालिसकेकोले अब जनस्तरमा बलियो पार्टी बन्ने विश्वास दिलाए ।

यस्तै, जनसरोकार केन्द्र नेपालका अध्यक्ष राजन तिमिल्सिनाले बृहत्त कम्युनिष्टहरुको एकता हुनुपर्नेमा जोड दिए । उनले भने,‘सच्चा क्रान्तिकारीहरुबीच मोर्चा हुनुपर्छ । सच्चा क्रान्तिकारीबीच एकता हुनुपर्छ । यो निर्वाचन प्रणाली हुने खानेहरुको लागि मात्रै हो । सर्वहारको लागि चुनाव जित्ने परिस्थिति छैन् । त्यसैले धेरै विकृति छन्, ती सबै सच्याउनुपर्छ ।’

त्यस्तै, सामाजिक एकता पार्टीका उपाध्यक्ष प्रेम कार्कीले नेकपा समाजवादी पार्टीले भर्खरै एक वर्षको यात्रा तय गरेपनि यसको गतिविधि हेर्दा परिपक्व र वयस्कजस्तो देखिएको बताए । उनले भने,‘हाम्रो उद्देश्य एउटै हो कि देशको विकास गर्ने, हामी देशको निकास र विकासको निम्ति अचम्मखालको परिवर्तन ल्याउनेछौं ।’

उनले देशका विद्यमान ठूूला पार्टीको नीति र गतिविधि हेर्दा कतैबाट पनि सन्तुष्टि हुने अवस्था नरहेको टिप्पणी गरे । उनले भने,‘अहिले जनता आक्रोशित छन् । भयभित छन् । जनताले विकल्प खोजिरहेका छन् । जनताले विकल्प पनि देखेको छैनन् । यो पार्टीले वार्षिकोत्सव मनाउँदै गर्दा देश र जनताको लागि यो विकल्पको पार्टी बन्नेछ भन्ने विश्वास लिएको छु ।’

यस्तै, नेपाल दलित पार्टीका अध्यक्ष मेघबहादुर कामीले पनि नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) को भविष्य राम्रो रहेको भन्दै आगामी दिनको लागि सफलताको लागि शुभकामना दिए । उनले भने,‘७५ वर्षको अवधिमा कम्युनिष्टहरुले सम्मुनत समाजको लागि संघर्षशिल भएको ईतिहास छ । समाजवादी क्रान्तिको लागि प्रयास जारी छ । कांग्रेस पनि धेरै पटक सरकारमा आयो । समाजले पाउनुपर्ने विकास र निकास, स्वतन्त्रता पाउन सकेन् । समाजवादको नाममा होस वा माक्र्सवादको नाममा होस, समाजवादको काम गर्नेबीच जात व्यवस्था हुँदैन् । यो पार्टीको उत्तरोउत्तर प्रगतिको कामना गर्दछु ।’

यस्तै, एमसीसी खारेज अभियानका संयोजक नारायण खनालले अहिले देशको राजनीति पूराका पूरा विकृत भएको आरोप लगाएका छन् । उनले भने,‘कम्युनिष्टको नाम लिएर नआउनुहोस भनेर जनताले भन्न थालेको कुरा आयो । त्यसो भए के कांग्रेस ठीक हो त ? कांग्रेसको राजनीति ठिक छ, पञ्चहरुको राजनीति ठिक थियो त ? समग्रमा राजनीति अहिले नीति तथा नैतिकताविहीन भएको छ । विकृतिबाट जोगाउन सक्नुहोस । मेरो तपाईँहरुलाई शुभकामना छ ।’

जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्लेले अहिले मुलुकमा समस्याका पहाड रहेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) ले हल गरोस भन्ने शुभकामना दिए ।

उनले भने,‘यो पार्टीले नयाँ नेपाल र विकसित नेपाल बनाउन सकोस । ठूला पार्टी भन्नेहरुले हामी नेपालको शीर निहुरिने काम गरेका छन् । नेपालीहरुलाई नोकर बनाउने काम गरेका छन् । नोकर खोज्ने देशको रुपमा नेपाल चिनिएको छ । हामी धेरै लज्जित हुनुपरेको छ । यो पार्टीलाई आगामी दिनमा धेरै धेरै शुभकामना भन्छु ।’

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले पनि कम्युनिष्ट पार्टीको विचार र सिद्धान्त स्पष्ट हुनुपर्ने भनदै मुलुकको राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले नेपालको संसद् कसको हो ? भन्दै प्रश्नसमेत गरे । एमसिसी संसद्बाट पारित भएपछि उनले यस्तो प्रश्न उठाएका हुन् । उनले भने,‘संसद् नेपालको भन्ने अनि अमेरिकाको कुरा पास गर्ने, यो संसद् कसको हो ?’

सुवेदीले किसानको बारेमा कम्युनिष्ट पार्टीले विगत कालमा मुद्दा उठाएको भएपनि अहिले खास मुद्दा उठाउन नसकेको गुनासो पोखे । उनले ‘किसान जगाउ, किसान बचाउ’ भन्ने नारा लिएर जानुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot