काठमाडौं, १४ असार । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले काठमाडौं उपत्यकामा मौसमी हैजा देखिने गरेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव डा. पोखरेलले भने, “काठमाडौं उपत्यकामा घना आवादी छ । त्यसैले प्रत्येक बर्खा याममा फाट्टफुट्ट हैजा देखिन्छ । पानीमा दूषित कोलिफर्म, ब्याक्टेरियाहरु देखिन्छन् । ढल र खानेपानी मिसिन्छन् । खानेकुरा र पानीको गुणस्तर आवश्यक हुन्छ । पानीको स्रोत के हो ? कस्तो खानेकुरा हो ? यसमा सतर्क हुनुपर्ने आवश्यकता छ । यसमा स्वास्थ्य मन्त्रालयमात्र नभएर केयुकेएल, काठमाडौं महानगरपालिका सबै मिलेर काम गर्ने हो हैजा कम गर्न सकिन्छ ।”
हैजाको कारण भयावह स्थिति आउने अवस्था भने नरहेको उनले बताए । डा. पोखरेलले भने, “महामारीबारे विज्ञहरुले बोल्नु स्वाभाविकै हो । पानीको उमालेर पिउन थाल्यौं भने रोग स्वतः कम हुन्छ । २ मिनेट भकभक उम्लिएको पानीमा ब्याक्टेरिया मर्छ । अहिले बजारमा ४०, ५० रुपियाँमा पाइने जारको पानीको गुणस्तर के छ ? विभिन्न थरीका जारको पानीमा हामीलाई शंका छ । यदि जारको पानी खाने हो भने पनि उमालेर खानु उचित हुन्छ ।”
स्वास्थ्य सचिव डा. पोखरेलले बारम्बार चौलानीजस्तो दिसा लाग्यो भने अस्पताल गइहाल्न पनि सुझाव दिए । साथै उनले कोभिडको संक्रमण बढिरहेकाले माक्स लगाउन पनि सर्वसाधारणलाई आग्रह गरे । उनले थपे, “हामी माक्स अनिवार्य पनि भन्न सक्दैनौं । तर माक्स लगाउनु राम्रो हुन्छ । अहिले ५ देखि १२ वर्षसम्मका बालबालिकालाई स्कूलमै खोप लगाइरहेका छौं । खोपको प्रभावकारिता बढेको पनि छ ।”