Logo

पहिरोले डुम्रे बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध



लमजुङ, असार १४। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुर नजिकै पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

उनका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिरोले अवरुद्ध बनाएको सडकका कारण वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा सोही पहिरोले ढुङ्गामाटासहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प छ । सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँमा जान र सो स्थानबाट बेँसीसहर आउने सवारी साधन चल्न सकेका छैनन् ।

त्यस्तै, लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकखण्डस्थित बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा समेत बाढी पहिरोले सडक अवरुद्ध भएको छ । करिब ३० मिटर सडक नै अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीको भनाइ छ । यस स्थानमा बर्सेनि पटकपटक पहिरोका कारण थप जोखिम बढ्दै गएको छ । यी दुवै स्थानमा पहिरो खुलाउने तयारी भएको छ । डुम्रे–बेँसीसहर सडक ४२ किलोमिटर रहेको छ भने बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot