Logo

नवनियुक्त शहरी विकासमन्त्री चौधरीको प्रतिबद्धता-देश र जनताको हित हुनेगरि काम गर्छु (भिडिओसहित)



काठमाडौं, १४ असार । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले पदमा बसुञ्जेल देश र जनताको हित हुनेगरि ईमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्रीले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले देशको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नपनि अपिल गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले मुलुकमा ठूला–ठूला क्रान्ति र परिवर्तन भएको स्मरण गराउँदै देश विकासको लागि अब सबैले ईमानदारितापूर्वक योगदान दिनुपर्ने बताए । उनले भने,‘हामीले नेपालमा बहुदलीय व्यवस्था ०४६ सालमा प्राप्त गरेका थियौं । २०१७ सालमा जनताले चुनेको सरकार बनाएका थियौं । २००७ सालमा नेपालको राजनीतिक इतिहासको कुरा गर्दा प्रजातन्त्र आएको कुरा हो । ००७ सालदेखि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै आज हामी यो ठाउँमा आईपुगेका छौं । तर, जनताको पोजिसन, अवस्थामा चेन्ज किन आउन सकेको छैन् ? यो धेरै महत्वपूणए कुरा हो ।’

नेपालभन्दा धेरै कान्छो देश अमेरिका आज सम्पन्न भएको तर नेपालको भने हालत उही किन रहेको भन्दै उनले प्रश्न पनि तेर्साए । उनले भने,‘१४२५ मा कोलम्बसले अमेरिका पत्ता लागाए, अमेरिकाको ईतिहास ६–७ सय वर्षमात्रै छ । तर, नेपालको इतिहास १५ हजार वर्षभन्दा धेरै पूरानो छ । अमेरिका संसारकै शक्तिशाली राष्ट्र हुन हुने, हाम्रो देश गरिब छ, अनि हामी गरिबी र दुःखका गीत गाउँछौं । अभावका कुरा गर्छौं । धेरै अप्ठ्यारो परिस्थिति हाम्रो मनस्थितिमा छन् । नेपाल यो ठाउँमा हुनुको कारण के हो ? हामीसँग बलियो प्रतिबद्धता भएन । कमिटमेन्ट भएन । सही दृष्टिकोण भएन । देश बनाउने मनोविज्ञान बन्न सकेन । २०४६ सालदेखि धेरै प्रधानमन्त्री बनायौं । सबै प्रधानमन्त्रीले पूजातन्त्र र लोकतन्त्रमा विश्वास गर्थे । देशले मुहार त फेर्न सकेन् । मुहार फेर्न नसक्ने कुरा त करप्टेड मनोविज्ञान हो । बनाउन मिल्नेजतिको पनि बनाउन सकेनौं ।’

उनले नेपालमा गलत काम गर्दापनि सपोर्ट गर्ने अनि राम्रो काम गरेको छ भने विरोध गर्ने परम्परा रहेको भन्दै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए । मन्त्री चौधरीले आफू पदमा रहँदासम्म ईमानदािरतापूर्वक काम गर्ने प्रयास गर्ने विश्वास दिलाए । उनले भने,‘अब पनि देशमा ईमानदार मानिस जन्मिएनन भने देश बन्दैन् ।’ उनले संविधान, कानून र प्रणालीमाथि च्यालेन्ज थपिएको सुनाउँदै यसलाई बचाउनको लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्न सकौं भन्ने बताए ।

उनले भने,‘हामीले मुलुकलाई बनाउने हो भने सबैले प्रयास गर्नुपर्छ । योगदान पुर्याउनुपर्छ । मुलुकलाई ठीकठाकमा राख्ने हो प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीमात्रै ईमानदरा भएर पुग्दैन् । सबै क्षेत्रका जिम्मेवार व्यक्तिहरु दुरुस्त हुनुपर्छ । जतिसक्दो सबैले जो जहाँ छौं, सबैले मुलुक बनाउने कुरामा योगदान गर्न सकौं ।’

उनले रिपोर्टर्स क्लब र यसका सभापति ऋषि धमलाले आफूलाई सफल कार्यकालको लागि दिएको शुभकामनाप्रति कृतज्ञता व्यक्त गरे । उनले भने,‘म हिजोमात्रै मन्त्री भएको हुँ, क्लबले आज सफल कार्यकालको लागि शुभकामना दिएको छ । क्लब र यसका सभापति ऋषि धमलाप्रति आभार र धन्यवाद भन्न चाहन्छु । क्लबले मेरो सफल कार्यकालको लागि जुन शुभेच्छा व्यक्त गरकेो छ, यसप्रति म आभारी छु । ऋणी छु ।’

क्लबका सभापति धमलाले मन्त्री चौधरीलाई देश र जनताको अहित हुनेगरि कुनैपनि काम नगर्न आग्रह गरेका छन् । ईमानदारितापूर्वक काम गरेर सफल मन्त्रीको रुपमा नाम कमाउन सक्नुहोस भन्ने धमलाको चौधरीलाई शुभकामना थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot