Logo

अस्ट्रेलियाः लकडाउनमा लाखौँ मौरी



काठमाडौं, असार १५ । घातक परजीवी भेटिएपछि सरकारले हजारौँ मौरीलाई नष्ट गर्ने निर्णय पनि गरेको छ। सिड्नीनजिकको बन्दरगाहमा गत साता फेला परेको भारोआ डिस्ट्रक्टर नामक किर्ना त्यसयता १०० किलोमिटर टाढाको घारमा पनि देखिएको छ।

सो परजीवीका कारण त्यहाँको मह र खाद्य उद्योगलाई दशौँ लाख डलर घाटा हुने जोखिम भएको बताइएको छ।नयाँ जीव सुरक्षा क्षेत्रका माहुरी पालकहरू अब अर्को सूचना नआएसम्म घार, मौरी वा महको चाका अन्यत्र लान पाउने छैनन्।

विश्वभर मौरीका लागि सबैभन्दा ठूलो जोखिमका रूपमा रहेको भारोआ परजीवी यसअघि अस्ट्रेलियामा देखिएको थिएन। तिलको गेडाजत्रो यो परजीवीले मौरीलाई भाइरस सारेर मौरी समूहलाई कमजोर बनाउने र मार्ने गर्छ।

न्यू साउथ वेल्सका सात ठाउँमा परजीवी भेटिएपछि अस्ट्रेलियाका अधिकारीहरूले यसलाई नियन्त्रण गर्न केही जैविक सुरक्षा उपायहरू लागु गरेका छन्।

बीबीसीका अनुसार परजीवी देखा परेको स्थानको १० किलोमिटर वरपर रहेका ४०० घारहरू नष्ट गरिनेछ भने २५ किलोमिटर परसम्मका घारहरूलाई निगरानी गरिने छ।

मौरी लकडाउन लागु गरेर मौरीलाई एक प्रान्तबाट अर्को प्रान्तमा सार्न मनाही गरिएको छ। न्यू साउथ वेल्सका कृषक सङ्घका इयान म्याक्कोलका अनुसार यो महामारी रोक्न यी कदमहरू आवश्यक छन्।

म्याक्कोलका अनुसार ती परजीवीहरू फैलिए अस्ट्रेलियाको मह उद्योगलाई मात्रै प्रतिवर्ष चार करोड ८० लाख अमेरिकी डलर बराबर घाटा लाग्नेछ।



प्रतिक्रिया दिनुहोस्