काठमाडौं, १५ असार । कुनैबेला सानागाउँ र हरिसिद्धको फाँटबाट उत्पादित धानबाट उत्पादन हुने चीउरा निकै लोकप्रीय थियो । उक्त फाँटबाट उत्पादन हुने टाइचिन धानको चीउराको लोकप्रीय ब्रान्ड थियो । सानागाउँको चीउराले काठमाडौं उपत्यकाभित्र मात्र नभई बाहिर पनि निर्यात गर्ने परिस्थिति थियो ।
अहिले पनि सानागाउँको चीउरा निकै लोकप्रीय छ । तर, चीउराका लागि आवश्यक टाइचिनको धान उत्पादन निकै घटेको छ । हरिसिद्धि र सानागाउँको फाँट आधा भरिएको छ । गुठीको जग्गाबाहेकका जग्गामा घरहरु बनिसकेका छन् । धान उत्पादन घटेको छ ।
अहिले देशमा धान दिवस मनाइरहँदा चीउराको पनि निर्यात निकै बढेको खुलेको छ । चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँको चिउरा भित्रिएको खुलेको छ । धान आयात गरी चीउरा उत्तिकै उत्पादन गरी विक्री गरिएकाले चीउरामा देश परनिर्भर बन्न थालेको स्पष्ट देखिन्छ ।
चीउरा मात्र नभई दही पनि निर्यात हुन थालेको छ । स्पेन र बँगलादेशबाट समेत दही आयात भएको छ । चालु आर्थिक वर्षमा ३६ लाख रुपैयाँको दही आयात भइसकेको छ ।
देशमा धान, गहुँ, मकैं जस्ता अत्यावश्यक खाद्य सामाग्री आयात बढ्दै गएको छ । आन्तरिक उत्पादन घट्नु र बाह्य उत्पादन भित्रनुले विदेशी मुद्रा देशबाहिर जाने अवस्था बनेको छ । रोजगारीका अवसरहरु पनि घट्न थालेको छ ।