काठमाडौं, १५ असार । आफ्नै डेरामा मृत फेला परेकी लोक दोहोरी गायिका दिलमाया सुनारको अहिलेसम्म उनले प्रयोग गरेको मोवाइल भेटिएको छैन् । उनको हत्या गरेको अभियोगमा काभ्रेका सुर्य श्रेष्ठ प्रहरीको नियन्त्रणमा छन् ।
दिलमायाले शनिबार राति फेसबुकमा ‘कसैको माया पाउन जति कोसिस गरेपनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिनदिनै मर्न सकिन आमा’ भन्दै स्टयाटस पोस्ट गरेकी थिइन् ।
उक्त पोस्ट उनी आफैले गरेकी हुन् की कसैले गरिदिएको हो त्यो अझै रहस्यमय बन्दै गएको छ। उनको शव भेटिएपनि आजसम्म उनले स्ट्याटस पोस्ट गरेको मोवाइल भने नभेटिएको प्रहरीले जनाएको छ।
मोवाइल खोज्न प्रहरीले उनको डेरामा खानतलासी गरिसकेको छ । सँगै सुतेका प्रेमी श्रेष्ठले दिलमाया झुण्डिएको देखेपछि हतार हतार तल झारेको र सल लिएर महाराजगञ्जको झाडीमा फालेको प्रहरीसमक्ष बयान दिएका छन् ।
दिलमायाको पोस्टमार्टम गरेको अस्पताल त्रिवि शिक्षण अस्पतालले भने मृत्युको कारण ‘ह्याङ्गिङ’ नै भएको देखाएको छ । दिलमायाका बुवाले भने श्रेष्ठविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् । श्रेष्ठलाई प्रहरीले थप ५ दिन म्याद लिएर अनुसन्धान गरिरहेको छ।