Logo

रसुवागढी हाइड्रोपावरको आईपीओ निष्कासनको दोस्रो दिनमै प्रक्रिया रोक्न माग



काठमाडौं, १५ असार । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयलाई आईपीओ निष्कासन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न माग भएको छ । गोसाईकुण्ड गाउँपालिका–१ कार्यालयले आईपीओ निष्कासन गरेको दोस्रो दिन नै प्रक्रिया रोक्न आयोजनासँग माग गरेको हो ।

वडाध्यक्ष उर्केन छिरिङ तामाङले मंगलबार पत्रमार्फत आईपीओ निष्कासनको प्रक्रिया रोक्न माग गरेका हुन् । भूकम्प र कोरोना महामारीका कारण प्रभावित ‘क’ वर्गमा परेको वडा नम्बर १ थुमन र २ टिमुरेका स्थानीयवासी शेयर भर्न असक्षम रहेको उनले बताए । जारी मिति सारेर शेयर भर्नका लागि कम्पनी वा क्यापिटलले बैंकबाट ऋणको व्यवस्था मिलाउनुपर्ने समेत उनले बताए ।

तर, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले निष्कासन सुरु भइसकेकाले प्रक्रिया रोक्न नसक्ने बताएका छन् ।
सोमवारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि कम्पनीले आईपीओ निष्कासन गरेको थियो । रसुवावासीका लागि रसुवागढीले एक सय रुपैयाँ अङ्कित ६८ लाख ४२ हजार एक सय कित्ता शेयर निष्कासन गरेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

कम्पनीले गोसाईंकुण्ड गाउँपालिका(१ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका(४ गोल्जुङ, वडा नम्बर ५ चिलिमे र गोसाईंकुण्ड गाउँपालिका–४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ ।

कम्पनीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८३ प्रतिशत काम सकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot