Logo

घटेन सवारी भाडा, सहचालकको जवाफ घटेको भाडा सरकारसँग माग्नुहोस्



काठमाडौं, असार १७। रत्नपार्कबाट थानकोटसम्म चल्ने चन्द्रागिरि यातायातका सहचालक र सोही यातायातमा सवार विनु कार्कीबीच गाडी भाडाको विषयमा सोमबार साँझ झगडा भयो । सधैँ २० रुपैयाँमा ओहोरदोहोर गरेकी कार्कीसँग सहचालकले त्यो दिन २५ रुपैयाँ मागे।

कार्कीको भनाइ थियो, “तेलको भाउ बढेकै बेलामा त २० रुपियाँ मात्रै तिरेहुथ्यो अहिले त झन् डिजेलको भाउ २९ रुपैयाँ घटेका बेला भाडा कसरी बढ्यो?” यात्रु महिलाको कुरा नसकिँदै सहचालकको जवाफ यस्तो थियो, “घटेको भाडा सरकारसँग माग्नुहोस्, हामी दिन सक्दैनौँ ।”

सरकारले निर्धारण गरेको भाडादरअनुसार उपत्यकामा सार्वजनिक सवारी साधन चढ्ने र झर्ने बित्तिकै १८ रुपैयाँ र किलोमिटरका आधारमा ३० रुपियाँसम्म लिन पाउने व्यवस्था छ । तर व्यवसायीले भने तेल बढेको बहानामा आफूखुसी भाडा लिँदै आएको यात्रु कार्कीको भोगाइले पनि पुष्टि गर्छ । सरकारले भाडादर तोक्ने वित्तिकै पनि खुद्रा नभएको बहानामा २० रुपियाँ लिन्थे भने अहिले तेल बढ्यो भनेर २५ रुपैयाँ लिन थालेका छन् ।

उपत्यकाका विभिन्न क्षेत्रमा चल्ने नेपाल यातायात र कीर्तिपुर–रत्नपार्क चल्ने कीर्तिपुर यातायात व्यवसायी भने सरकारबाट नयाँ भाडा समायोजन भएर आउँदा अझै बढेर आउने दाबी गर्छन् । कीर्तिपुर सार्वजनिक यातायात सेवाका चालक विवेक महर्जनले अब आउने भाडा लिस्टमा अहिले लिँदै आएको भाडामा अझै बढेर आउने दाबी गरे । “अहिले बस चढ्ने र झर्ने वित्तिकै २० रुपैयाँ लिने गरेका छौँ, अब बढेर २५ रुपैयाँ हुन्छ, भाडा समायोजन भएपछि छ, सात पटक तेलको भाउ बढेको छ एक पटक तेलको भाउ घट्दा भाडा कसरी घटाउन सकिन्छ,” उनले प्रतिप्रश्न गरे ।

सरकारले सार्वजनिक यातायात प्रयोग गर्ने सर्वसाधारणलाई राहत होस् भनेर डिजेलको मूल्यमा प्रतिलिटरमा २९ रुपैयाँ घटाएको हो तर यसको प्रत्यक्ष फाइदा सार्वजनिक यातायातका सञ्चालकले लिँदै आएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्