काठमाडौं, १७ असार । जनता समाजवादी पार्टीका नेता युवराज कार्कीले बाबुराम भट्टराईको राजनीति सकिएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कार्कीले भने, “तीन वर्षअघि बडो उत्साहसाथ पार्टी एकता गरेका हौं । त्यसको वार्ता टोलीमा म पनि थिएँ । एक वर्ष लामो वार्ता चल्यो । त्यसलाई उपलब्धिका रुपमा पनि हेरियो । सैद्धान्तिक असहमति केही नभए पनि उपेन्द्रको कार्यशैलीलाई बाबुरामलाई चित्त बुझेन, बाबुरामको कार्यशैली उपेन्द्रलाई मन परेन । अहिले पार्टी फुटाउने कानुन नभएकाले बाबुरामको विकल्प अलग पार्टी खोल्ने हो । नेकपा मालेका महासचिव सीपी मैनालीको जस्तै बाबुरामजीको राजनीति करिब करिब सकियो ।”
बाबुरामको पक्षमा मुस्किलले ५ सांसद पनि नरहने उनले दाबी गरे । कार्कीले थपे, “पूर्वनयाँ शक्तिका धेरैजसो साथी बाबुरामजीसँग जानुहुन्छ, बाँकी हामी जसपामै रहन्छौं । जसपाका २२ जनामध्ये २ जना सांसद निलम्बित छन् । बाबुरामजी, राजकिशोर यादव, महिन्द्र राय यादव, अमृता अग्रहरि जानुहुन्छ होला । राजकिशोर हामीसँगै बस्ने सम्भावना पनि छ । बाबुरामजीको जनाधार खस्केकाले पार्टीलार्ए खासै घाटा हुँदैन । त्यस्तो निर्णायक असर हुन्न ।”
बाबुराम र उपेन्द्र सौहार्द रुपमै छुट्टिने पनि उनले औंल्याए । कार्कीले थपे, “मलाई लाग्छ, नेपाली पार्टी फुट्ने र जुट्ने कार्यकर्ताभन्दा पनि नेताहरुका कारण हुन्छ । चाहे एकता हुन्छ, नचाहे फुट्छ । तर केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र बाबुरामजीबीच छुट्टिँदा पनि सौहार्दपूर्वक छुट्टिने सौहार्द समझदारी भएको छ । एकअर्काको चरित्रहत्या, गालीगलौज, दुष्प्रचार, हिलो छ्यापाछ्याप नगर्ने, जननिर्वाचित प्रतिनिधिलाई कारबाही नगर्ने समझदारी भएको छ । यो राम्रो कुरा हो ।”