Logo

मोदीको मन जितेका राजदूत नवीन श्रीवास्तव



काठमाडौं, १७ असार । नेपालका लागि नवनियुक्त राजदूत नवीन श्रीवास्तवले ओहदारको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेपछि औपचारिक कार्य सुरु गरिसकेका छन् । उनले १६ असारमै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दुई देशबीचको सम्बन्धबारे कुराकानी गरे ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाएका श्रीवास्तव नेपाल मामलाका जानकार पनि हुन् । नेपालसँग जोडिएको भारतको विहार राज्यका स्थायी बासिन्दा हुन् श्रीवास्तव । यसकारण पनि उनले नेपाललाई नजिकबाट बुझेका छन् ।

सन् १९९३ को भारतको विदेश सेवाका ब्याची हुन् श्रीवास्तव । उनीसँग २९ वर्ष लामो विदेश सेवाको अनुभव छ । कम्बोडियाका लागि सन् २०१५ देखि २०१७ सम्म राजदूत भएका श्रीवास्तवले विदेश सेवामा रहँदा अमेरिका, चीन र हङकङमा पनि विभिन्न जिम्मेवारीमा रहेर कार्य गरेका थिए ।

भारतको विदेश सेवाको कार्यआरम्भ श्रीवास्तवले हङकङबाट सुरु गरेका थिए । त्यसपछि बेइजिङमा खटिए । सन् २००९ देखि २०१२ बीच वासिङटनमा खटिए । सन् २०१२ देखि २०१५ सम्म सांघाईमा कन्सुल जनरलका रुपमा रहे ।

श्रीवास्तवले आइआइटी दिल्लीबाट स्नातक गरेका छन् । दिल्ली आइआइटी भारतमा प्रतिष्ठित शैक्षिक संस्था मानिन्छ । उनले अमेरिकाको मेरिल्यान्डबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

श्रीवास्तव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासिला कुटनीतिज्ञ मानिन्छन् । भारतको चीनसँग लद्दाख क्षेत्रमा विवाद हुँदा विभिन्न चरणमा भएको संवादमा श्रीवास्तव पनि सहभागी भएका थिए । अप्ठ्यारा र महत्वपूर्ण वार्तामा खटाइनुले पनि भारतको विदेश मन्त्रालयका अधिकृतहरुमाझ उनी क्षमतावानमा गनिन्छन् भन्ने बुझिन्छ ।

विदेश मन्त्रालयमा रहँदा उनी पूर्वी एशिया डिभिजनमा सहसचिव थिए । उक्त डिभिजनले चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र मङ्गोलियाको मामला हेर्छ । उनलाई चीन मामलाको जानकारका रुपमा लिइन्छ । यसकारण पनि श्रीवास्तव नेपालका लागि राजदूत हुनुलाई अर्थपूर्ण मान्न सकिन्छ ।

नेपालमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आइरहँदा श्रीवास्तव राजदूतका रुपमा खटाइनुले पनि चासो बनेको छ ।



प्रतिक्रिया दिनुहोस्