Logo

श्रीमान्-श्रीमतीलाई नै संसद् नबनाउन माग



काठमाडौं, असार २१ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्य जम्बो बनाएको भन्दै नेतृत्वको चर्को आलोचना भएको छ । पार्टी संगठनलाई चुस्त दुरुस्त बनाउन सानो कमिटी निर्माण गर्नुको सट्टा मापदण्डबिना नै केन्द्रीय कमिटीको संख्या ठूलो बनाइएको भन्दै आलोचना भएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने केन्द्रीय सदस्यहरूले अपमानित भएर गठबन्धनमा पक्षमा बस्न नहुने सुझाव दिएका छन् । स्थानीय निर्वाचनमा गठबन्धन गर्दा कांग्रेसबाट धोका भएको बताउँदै कन्द्रीय सदस्यहरूले त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरूले चुनावलाई लक्षित गरेर पार्टीले प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिएका हुन् । औचित्य पुष्टि नभएसम्म २०६३ साल यता चार पटक संसद् भएकालाई यसपटक उम्मेदवार नबनाउने निर्णय लिनुपर्ने माग केन्द्रीय सदस्यहरूले गरेका छन् । एक केन्द्रीय सदस्यले भने–‘पार्टीमा श्रीमान्÷श्रीमती नै संसद बनाउने गलत निर्णय यसपटक गर्नुहुन्न ।’

बैठकमा पदाधिकारी चयनमा भएको ढिलाइबारे पनि आवाज उठेको छ । केन्द्रीय नेता सुदन किराँतीले पदाधिकारी त टुंग्याउन नसक्नेले कसरी देश बनाउन सक्छ भन्दै नेतृत्वप्रति आलोचना गरेका छन् । पुषमा महाधिवेशन गरेको माओवादीले हालसम्म पनि पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot