Logo

गगन थापाले अर्थमन्त्रीको राजीनामा नमागेको भए हुन्थ्योः कांग्रेस सहमहामन्त्री



काठमाडौं, २१ असार । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने पार्टी महामन्त्री गगन थापाको धारणा व्यक्तिगत भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “गठबन्धन सरकारमा अर्थ मन्त्रालय माओवादी केन्द्रको कोटामा छ । मन्त्री फिर्ता बोलाउने कि नबोलाउने माओवादी केन्द्रको काम हो । ? हाम्रो महामन्त्रीले अर्को पार्टीको मन्त्रीको बारेमा नबोलेको भए हुन्थ्यो । हाम्रो पार्टीमा यसबारे कुनै छलफल भएको छैन । यो गगन थापाको व्यक्तिगत विचार होला वा सांसदको रुपमा आएको होला ।”
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई नहटाउने पनि उनले बताए । यादवले भने, “उहाँले अर्थमन्त्री हटाउने त्यस्तो कुरा केही छैन । अर्थमन्त्रीका सम्बन्धमा कुनै छानबिन भएको छैन । स्थिति नै प्रस्ट नभईकन राजीनामा माग्ने वा हटाउने कुरा हुँदैन । साथै उनले गृहमन्त्री बालकृष्ण खाँडलाई हटाउन नहुने पनि जिकिर गरे । यादवले भने, गृहमन्त्रीजीलाई पुरस्कार पो दिनुपर्छ हामीले । शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराएकोमा पार्टी र सरकारले त उहाँलाई पुरस्कार दिनुपर्छ ।”

सभापति एवं प्रधानमन्त्री देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको उनको दाबी छ । कांग्रेस सहमहामन्त्री यादवले भने, “देउवा ८० प्रतिशत मतसहित विजयी हुनुको अर्थ के हो भने उहाँको पहिलो कार्यकाल सफल थियो । यो महाधिवेशनले दिएको निष्कर्ष हो । सबै दललाई विश्वासमा लिएर स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउनुभयो । निर्वाचनपछि नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको छ । आउने संघ र प्रदेश निर्वाचनमा बहुमत दिलाएर छाड्छु भन्नुभएको छ । उहाँलाई असफल भन्नु उचित होइन ।”
संस्थापन इतर पक्षका शेखर कोइरालाले कांंग्रेसलाई मात्र होइन, एमाले, माओवादी, जसपालाई पनि एक्लै लड्नुपर्छ भन्न सक्नुपर्ने यादवको भनाइ छ । उनले भने, “म पनि चाहन्छु, सबै दल एक्लै एक्लै लडुन् । कांग्रेस एक्लै लड्न तयार छ । एमालेले पनि एक्लै लडेर देखाओस् । बाँकी पार्टी लोकतन्त्र सिध्याउन मिलेर लड्ने अनि कांग्रेस एक्लै लड्ने कुरा आउँदैन । शेखर र गगनले कांग्रेस मात्र होइन, एमाले, जसपा, माओवादीलाई पनि एक्लै जानुपर्छ भन्न सक्नुपर्यो नि ।”
कांग्रेसको आजको पदाधिकारी बैठकमा भातृसंस्थाको विधान र पूर्णता दिने अनि विभाग गठनबारे छलफल हुने पनि उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्