काठमाडौं, २१ असार । सरकारको अदुरदर्शी नीतिका कारण देशभरका निजी शैक्षिक संस्थाहरु धमाधम बन्द हुने क्रम बढेको छ । कोरोना भाइरसको संक्रमणले सयौंको संख्यामा निजी शैक्षिक संस्था बन्द भइसकेका छन् ।
विद्यालयहरु बन्द हुँदा हजारौंको रोजगारी गुमेको छ । नाम चलेका विद्यालय समेत बन्द भए । ललितपुरको शुभतारा स्कुल बन्द हुँदा झण्डै २ सयले रोजगारी गुमाए । जसमध्ये शिक्षक, कर्मचारी, संगित, कला, खेलकुद सिकाउने गुरुहरु समेत थिए । सवारी चालक र सहयोगीहरु पनि उल्लेख्य संख्यामा थिए जसले रोजगारी गुमाए । शुभतारा मात्र नभई देशभर कतिपय विद्यालय बन्द हुँदा रोजगारीको ठूलो अवसरहरु गुमेको छ ।
पछिल्लो समय नर्सिङ कलेजहरु बन्द भएका छन् । देशभरका ७८ नर्सिङ कलेज बन्द हुँदा ४ हजारभन्दा बढीले रोजगारी गुमाएका छन् ।
चिकित्सा शिक्षा ऐनमा नर्सिङ कलेजको १०० शैयाको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्थाका कारण बन्द भएका हुन् । उनीहरुले ३ हजारभन्दा बढी नर्सिङका विद्यार्थी पढाउँथे । यति ठूलो संख्याका नर्सिङका विद्यार्थी अब देश बाहिर जान थालेका छन् । देशको ढुकुटी बाहिर जान थालेको छ ।
इञ्जिनियरिङ कलेजहरु पनि समस्यामा पर्न थालेका छन् । इञ्जिनियरहरुले काम नपाएपछि आकर्षण घट्न थालेको छ । विद्यार्थी भर्ना घट्न थालेको गुनासो कलेजहरुले गरिरहेका छन् । यसले थप रोजगारीको अवसरहरु गुम्न थालेको छ ।
देशभित्र एमबीबीएसको सम्बन्धन खोजिरहेका कलेजहरु पाइरहेका छैनन् । एमबीबीएसको सम्बन्धन खोज्नेमा भक्तपुरको ख्वप कलेज पनि छ । उसले १५ लाखमै एमबीबीएस पढाउने नीति बनाएको छ । तर, ऐनले रोकिएको छ । जसका कारण रोजगारीको अवसरहरु सृजना हुनबाट रोकावट भएको छ । अर्कोतर्फ, एमबीबीएस पढ्न चाहनेहरु देशभित्र सिट कम हुँदा चीन, बङ्गलादेशका अलावा अन्य मुलुकमा करोडभन्दा बढी खर्च गरेर गइरहेका छन् । यसबाट देशको ठूलो ढुकुटी बाहिरिएको छ ।