काठमाडौं, २१ असार । राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
विदेशी मुद्रा अपचलन गरेको अभियोगमा कुश्मा–१ पर्वत स्थायी घर भई काठमाडौं सामाखुशी बस्दै आएका गणेश पौडेलमाथि विभागले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
विभागले पौडेलमाथि विदेशबाट अनौपचारीक माध्यमबाट ठुलो परिणामको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरुलाई रकम भुक्तानी दिएको, आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रुपमै अपनाएको आरोप लगाएको छ । विभागको अनुुुसार पौडेलले विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बराबरको रकम नेपाल तर्फको भुक्तानी फरक–फरक देखिएको, विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र नलिएको प्रमाण फेला परेको हो ।
पौडेललाई विदेशी विनिमय ऐन विपरितको कुसुरमा ८ करोड २३ लाख २६ हजार ६ सय रुपैयाँ बराबरको बिगो दाबी सहित माग दाबी गरी अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ ।