Logo

प्रचण्ड मुलुकको राजनीतिको नायक हो, केपी ओली प्रतिगमनको मतियार : मन्त्री साह (भिडिओसहित)



काठमाडौं, २१ असार । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता भरतप्रसाद साहले आफूले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएका छन् । उनले जनयुद्धकै कारण देशमा राजतन्त्रको अन्त्य भएको सुनाए । उनले जनयुद्ध नभएको भए देशको एकात्मक शासन प्रणाली कायमै रहनेथियो भन्ने टिप्पणी गरे ।

उनले जनयुद्ध प्रचण्डकै नेतृत्वमा सम्पन्न भएको सुनाउँदै उनले प्रचण्डलाई नायकको संज्ञा दिए । प्रचण्डकै कारण मुलुकमा ठूलो परिवर्तन आएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले अहिलेपनि वामपन्थीहरुबीच ध्रुवीकरण गरेर एकताको लागि प्रयास गरिरहेको उनको भनाई छ । उनले सिंहदरबारको आँखाले मधेशलाई नदेखेको पनि गुनासो पोखे । उनले संघीय सरकारले प्रहरी समायोजन गर्न दबाब दिने जनाए । उनले प्रहरी समायोजन नभएसम्म मुलुकमा हुने सबै खालको जिम्मा केन्द्रीय सरकारले लिनुपर्ने बताए ।

उनले संघीयता आफूहरुले अपेक्षा गरेअनुसार नभएको गुनासो पोखे । संघीयता ठूलो त्यागबाट ल्याईएको सुनाउँदै यो जान्छ भन्नु दिवासपना भएको मन्त्री साहको भनाई छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गणतन्त्र र संघीयताप्रति कुनै मतलब नभएको भन्दै प्रतिगमनको मतियारको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot