काठमाडौं, असार २१ । रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भएका चार जनाको धुलीखेल अस्पतालमा मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा रामेछाप सुनापति गाउँपालिका–५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका–४ २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाति–५ की २२ वर्षीया विपना तामाङ र मण्डनदेउपुर नगरपालिका–९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर, सुनापाति–५ कै ३६ वर्षीया सञ्जु आलेमगर र पाँचखालका ४० वर्षीय कुलबहादुर विक, सुनापाति–५ का ३५ वर्षीय रामबहादुर श्रेष्ठ, २५ वर्षीय बुद्ध तामाङ र ६० वर्षीय नेमा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २१ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। ३ जना गम्भिर घाइतेलाई भने हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा मृत्यु भएको रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी गिता गुरुङले रिपोर्टर्स नेपाललाई बताइन् । २७ जना यात्रु सवार बस सडकबाट झन्डै तीन सय मिटर तल खोल्सामा खसेको हो ।