काठमाडौं, २२ असार । अछामका विनोद शाही मृत्यु प्रकरणमा पक्राउ परेका मेयरसहित ३ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ । पञ्चदेवल विनायककी मेयर अम्बिका चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीमाथि प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने भएको हो ।
विनोद शाहीको हत्याको आरोपमा मेयरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको प्रतिवेदनमा घटनाको समयमा मेयर धनगढी, नेत्रबहादुर शाही, रामबहादुर शाही मंगलसेनमा रहेको उल्लेख गरिएको छ । उनीहरुको घटनामा सम्लग्नता नदेखिएको भन्दै सरकारी कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको जनाइएको छ ।
विनोदका परिवारले मेयर चलाउने, जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाही, पुर्ववडाध्यक्ष सज्जनबहादुर शाही लगायत १३ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।
बेपत्ता भएको ५ दिनपछि पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानको जंगलमा १६ वर्षीय शाही मृत अवस्थामा भेटिएका थिए ।
मृतक विनोदको मोवाइल बाटोमा भेटिएको थियो भने उनले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा फेला परेको थियो । कक्षा १० मा अध्ययनरत शाही जेठ १७ गतेदेखि बेपत्ता भएका थिए ।
नगरप्रमुख चलाउने नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेशको सह–महामन्त्री हुन् ।